काठमाडौं, १६ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका ऐतिहासिक कामका कारण नेकपा एमाले नागरिक माझ झन् लोकप्रिय हुँदै गएको बताएका छन् । बुधबार बालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले ऐतिहासिक रूपमा अभूतपूर्वक ढङ्गले विकास निर्माणको गतिलाई अघि बढाएका कारण नागरिकमा लोकप्रिय हुँदै गएको बताएका हुन् ।
उनले भने, ‘योजनाबद्ध दृष्टिकोणसहितको विकासको तीव्र आकाङ्क्षा र त्यस आकाङ्क्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिबद्धता र त्यसअनुसारको क्रियाकलापले हाम्रो पार्टी झन् बढी लोकप्रिय हुँदै अगाडि बढिरहेको छ ।’ बिमिस्टेक, लगानी सम्मेलनलगायत अन्तर्राष्ट्रियस्तरका विभिन्न सम्मेलन गरेर ती सम्मेलनमा सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको दाबी पनि उनले गरेका छन् ।
उनले भने, ‘राष्ट्रिय हित सार्वभौमसत्तालाई सम्वर्द्धन गरिरहेको र हाम्रा छिमेकी मित्र देशहरूको सम्बन्धमा कतै असमझदारी पैदा भइ हाल्यो भने त्यसलाई राष्ट्रिय हित, न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्त्वका आधारमा पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा, सार्वभौम समानताका आधारमा मतभेद हटाउँदै लगेका थियौँ । विकास गर्दै लगेका थियौँ । इतिहासमा पहिले कहिलेकाहीँ नभएका ठूला–ठूला सकारात्मक लक्ष्यहरू प्रकट भएका थिए ।’
सरकारले राम्रो काम गरेर जनतामाझ लोकप्रिय हुँदै जाँदा पार्टीभित्र भित्रै बेग्लै योजना बन्दै गएको र ती योजनाहरू व्यवहारमा भद्दा ढङ्गले प्रकट हुँदै आएको टिप्पणी उनले गरे । प्रधानमन्त्री ओलीले भने, ‘खासगरी सञ्चारमाध्यममा पार्टीका नीतिहरू अनि पार्टी नेतृत्वको धज्जी उडाउने, गाली बेइज्जती र अपमान गर्ने, सरकारले गरेका राम्रा उपलब्धिको चर्चा नगर्ने लगायतका थुप्रै प्रयास चलिरहे । प्रचारात्मक ढङ्गले । यस्ता कुराले जनतामा वितृष्णा र नैराश्यता पैदा भएको छ । जनता दुखी छन् र निराश छन् ।’
यस्तै प्रधानमन्त्री ओलीले पार्टीलाई गलत ढंगले कव्जा गर्ने र विरोधीसंगको साठगाँठबाट सरकारलाई बदनाम गर्ने खेल भएको बताएका छन् । उनले बिकासको काममा जुटेको प्रधानमन्त्रीको राजीनामा माग गरेपछि मुलुक अस्थीरतातर्फ जाने अवस्था पैदा भएको जिकिर गरे । ओलीले पार्टीभित्रको एकतालाई जोगाउन अधिकतम लचकता अपनाएपनि अर्को पक्षले त्यसलाई आफु अनुकुल प्रयोग मात्र गरेको तर्क गरे ।
एमाले राष्ट्र हाक्ने जिम्मेवारी बोकेको पार्टी भएकाले पार्टी भित्रको समस्यालाई राष्ट्रिय समस्याका रुपमा लिएको उनले बताए । प्रधानमन्त्री ओलीले एमाले नेतृत्वको सरकारले अभूतपूर्व ढंगले बिकास निर्माणका साथै शान्ति सुरक्षा तथा जनताका लागि काम गरेको तर गलत प्रचार हुँदा जनतामा निराशा छाउनु स्वभाविक भएको धारणा राखे । उनले मुलुकमा भ्रष्टचार नियन्त्रण गरेर देखाएको र अन्य मुलुकसंगको सम्बन्ध सुमधुर बनाएको दावी गरे । त्यस्तै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाले देश हाक्न सक्ने अवस्था नदेखिइएपछि बिघटन गर्न बाध्य भएको उल्लेख गरे ।