थप ४१ जनाको ज्यान गयो, सक्रिय संक्रमितको संख्या ३३ हजारमा झर्‍यो

admin

काठमाडौं, १६ असार : नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३३ हजारमा झरेको छ । बितेको २४ घण्टामा तीन हजार पाँच सय ९७ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या पाँच लाख ९६ हजार एक सय ३२ पुगेको छ । योसँगै सक्रिय संक्रमितको संख्या ३३ हजार पाँच सय ६१ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा कोरोना संक्रमण निको हुने दर ९३ दशमलव ३ प्रतिशत रहेको छ । यस्तै बितेको २४ घण्टामा दुई हजार आठ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार एक सय ८७ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार आठ सय ८९ र चार हजार तीन सय ८१ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार तीन जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिएकासँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ लाख ३८ हजार आठ सय पाँच पुगेको छ । यस्तै कोरोना संक्रमणका कारण थप ४१ जनाको ज्यान गएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ हजार एक सय १२ पुगेको छ ।

प्रतिक्रिया