दुई महिनापछि आन्तरिक उडान आजदेखि सुरु हुँदै

admin

काठमाडौं, १७ असार : निषेधाज्ञाको दुई महिनापछि आजदेखि आन्तरिक उडान सुरु हुँदैछ । बिहान ६ बजेदेखि नै उडान सुरु हुने भनिए पनि खराब मौसमका कारण उडानमा ढिलाइ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार लगातार पानी परेका कारण उडानमा ढिलाइ भएको हो ।

मौसममा थोरै सुधार हुनेबित्तिकै उडान हुने विमानस्थलले जनाएको छ । नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान गर्न अनुमति दिइ उडान सञ्चालन गर्ने तयारी गरेको हो ।

यात्रुहरुले भौतिक दूरी कायम गर्नुपर्ने, हरेक जहाज दश मिनेटमा उडान गर्नुपर्ने, एक पटक उडेपछि स्यानिटाइज अनिवार्य गर्नुपर्ने र यात्रुको लगेजसमेत स्यानिटाइज गरेर मात्र दिने गरी व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

उडानको अनुमति दिइएकामध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन र नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

कुल उडान क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न प्राधिकरणले हवाई कम्पनीहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया