इराक युद्धको रणनीति बनाउने अमेरिकी पूर्व रक्षा सचिव रम्सफेल्डको निधन

admin

एजेन्सी, १७ असार : इराक युद्धका मुख्य रणनीतिकारमध्ये एक डोनाल्ड रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन भएको छ । बुधबार न्यु मेक्सिकोको ताओस सहरमा आफ्नो घरमा रम्सफेल्डको निधन भएको उनको परिवारले बताएको छ । रम्सफेल्डको परिवारले सार्वजनिक गरेको विज्ञप्तिमा ८८ वर्षको उमेरमा डोनाल्ड रम्सफेल्डको निधन भएको पुष्टि गरिएको छ ।

उनी दुई पटक रक्षा सचिव भएका थिए । रम्सफेल्ड राष्ट्रपति जर्ज डब्ल्यू बुशको कार्यकालका क्रममा ९-११ को आक्रमणपछि कथित ‘आतङ्कको विरुद्ध युद्ध’ को प्रमुख प्रस्तावक थिए । इराकसँग ठूलो परिणाममा विनाशकारी हतियार भएको दाबी गर्दै सन् २००३ मा अमेरिकी सेनाले इराकमा आक्रमण गरेको थियो, यद्यपि अमेरिकी सेनाले कुनै हतियार भेटेन ।

तीन वर्षपछि अनुमानअनुसार नतिजा नभेटिएपछि रम्सफेल्डले राजीनामा दिए । कैयौँ विशेषज्ञ उनलाई इराक र आसपासको क्षेत्रमा बढ्दै गइरहेको कठिन अवस्थाको दोषी मान्छन् तर रम्सफेल्डले सधैँ आफ्नो रेकर्डको बचाउ गरे । सन् २००३ मा इराकमा अमेरिकी आक्रमणका मुख्य योजनाकार मानिएका रम्सफेल्डलाई अमेरिकी सेनाको आधुनिकीकरणका प्रमुख व्यक्ति मानिन्छ ।

रम्सफेल्डले सन् १९७० को शुरुमै राष्ट्रपति गेरार्ड फोर्डको प्रशासनका समयमा रक्षामन्त्रीको रुपमा सेवा गरेका थिए । उनी सन् २००० को शुरुमा राष्ट्रपति जर्ज डब्लु बुशको कार्यकालमा पनि रक्षामन्त्री बनेका थिए । रम्सफेल्ड रक्षामन्त्री रहँदा दुईवटा द्वन्द्वको सामना गरेका थिए । पहिलो, सन् २००१ मा अमेरिकी भूमिमा इस्लामिक स्टेटले गरेको आतंकवादी आक्रमणपश्चात अफगानिस्तानमा सैन्य कारबाही र सन् २००३ मा इराक युद्धमा सहभागी ।

बुसको समर्थन भएपनि रम्सफेल्डले इराक युद्धमा अमेरिकी भूमिकालाई लिएर अमेरिकी र नेटोका सदस्य मुलुकहरुले प्रश्न उठाएपछि सन् २००६ मा आफ्नो पदबाट राजीनामा दिएका थिए । खासगरी, इराकमा आम विनाशकारी हतियारको भण्डार रहेको भन्ने रम्सफेल्डको भनाईलाई विवाद उत्पन्न भएको थियो । पूर्वराष्ट्रपति जर्ज डब्लु बुशले बुधबार विज्ञप्ति प्रकाशन गरी रम्सफेल्डका कार्यहरुको प्रशंसा गर्दै रम्सफेल्ड उदाहरणीय निजामती प्रशासक र एक निकै नै असल व्यक्ति रहेको बताएका छन् ।

प्रतिक्रिया