ओमानमा रहेका नेपालीलाई समयमै खोप लगाउन दूतावासको आग्रह

admin

काठमाडौं, १८ असार : ओमानमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई समयमै खोप लगाउन आग्रह गरको छ । पछिल्लो समय त्यहाँ कोरोना संक्रमणको दर तीव्र रुपमा फैलिरहेको भन्दै आफू कार्यरत कम्पनी तथा स्पोन्सरमार्फत खोप लगाउन दूतावासले आग्रह गरेको हो ।

दूतावासका अनुसार ओमानमा अहिलेसम्म पाँच जना नेपालीले पनि कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने केही उपचाररत छन् । ओमानमा कोरोनाभाइरसको अनुगमन र मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार अर्को निर्णय नहुन्जेलसम्मका लागि लागू गरेको रात्रीकालीन लकडाउन जारी नै छ ।

यस्तै नेपाल लगायत विदेशबाट ओमान प्रवेश गर्नेले अनिवार्य रुपमा सात दिन क्वरेण्टीन बस्नुपर्ने नियम पनि यथावत् नै छ । साथै तारासुद एपमार्फत आफ्नो विवरण भरी ओमानमा अवतरण भएपछि विमानस्थलमै पीसीआर जाँच गर्नुपर्ने व्यवस्था भएको पनि दूतावासले जनाएको छ ।

ओमानमा खोप अभियान जारी नै छ । ओमानमा रहेका नेपालीलाई यस विषयमा केही थप बुझ्नुपर्ने भएमा दूतावासको फोन नम्बर २४६९६१७७ र २४६९६८८३ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ । यस्तै दूतावासको हटलाइन नम्बर ७१५९२४९० मा पनि सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया