थप दुई हजार दुई सय ९९ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३० हजारभन्दा तल झर्‍यो

admin

काठमाडौं, १८ असार : शुक्रबार कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३० हजारभन्दा तल झरेको छ । बितेको २४ घण्टामा तीन हजार चार सय ५१ जना निको भएसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या २९ हजार दुई सय ७४ मा झरेको हो । नेपालमा अहिलेसम्म ६ लाख तीन हजार ६ सय जना कोरोना संक्रमणबाट निको भइसकेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा दुई हजार दुई सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार पाँच सय ६६ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ९१ जना र चार हजार तीस जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय आठ जना गरी दुई हजार दुई सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ४२ हजार ५३ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३६ हजार सात सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै थप ३४ जनाको कोरोना संक्रमणबाट ज्यान गएसँगै नेपालमा अहिलेसम्म कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या नौ हजार एक सय ७९ पुगेको छ ।

प्रतिक्रिया