देउवाको समर्थनमा गरिएको हस्ताक्षर सोमबारसम्म फिर्ता लिन एमालेको अल्टिमेटम

admin

काठमाडाैं, १८ असार : नेकपा(एमाले)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने एमाले सांसदहरुलाई सोमबारसम्ममा हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरुलाई सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन आग्रह गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए।

उनले बहुदलीय प्रणालीमा दलको निर्णय विपरित दलका सदस्यले गरेको हस्ताक्षर अनधिकृत हुने पनि सम्वद्ध पक्षहरुलाई जानकारी गराउने निर्णय गरेको पनि बताए ।

बैठकले पार्टी एकतालाई सुदृढ पार्नका लागि नेता कार्यकर्तालाई आव्हान गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए।

कार्यकर्ताको भावनालाई केन्द्रविन्दुमा राखेर एकतामा योगदान दिन नेता, कार्यकर्तामा आव्हान गरिएको छ । एमाले केन्द्रीय कमिटी बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुनः बस्ने प्रवक्ता ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया