केपी ओलीसँग भेट्न माधव नेपालले रुचि देखाउनु भएन : मन्त्री पौडेल

admin

काठमाडौं, २० असार : नेकपा एमालेका उपमहासचिव तथा गृह मन्त्री विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन् । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र नेता पौडेलले आइतबार बिहान नेता नेपाललाई भेटेका थिए ।

भेटमा उनले प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुचि नदेखाएको नेता पौडेलले जानकारी दिए । राष्ट्रिय सभाको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा नेता नेपालसँगको भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडेलले आफूले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुचि नदेखाएको बताएका हुन् ।

उनले भने, ‘माधव कमरेडकोमा गएका थियौँ । म, सुवासजी र शङ्करजी भएर । उहाँसँग एकछिन कुराकानी भयो । हामीले पार्टीलाई एकताबद्ध गरेर लिएर जाऔँ भन्नेमा आग्रह गर्‍यौँ । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्या छैनन् । तपाईँहरू एक-आपसमा बस्नुहोस् । हामी पनि आपसमा विभिन्न साथीसँग छलफलमा छौँ । समाधान खोजेर अगाडि जाऔँ । पार्टी अध्यक्ष र तपाईँको बीचमा मिटिङ होस् हामी चाहन्छौँ भनेर प्रस्ताव राख्यौँ । उहाँले प्रधानमन्त्रीसँग भेट्नका लागि अरुचि प्रकट गर्नुभयो । भेट्ने कुरामा खासै रुचि राख्नुभएन । ठिकै छ छलफल गर्दै जाऔँ भनेर हामी उठ्यौँ ।’

प्रतिक्रिया