दुई जनाको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव हुँदैन, म ओलीतिर लाग्या छु : नेता गौतम

admin

काठमाडौं, २० असार : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् । राष्ट्रिय सभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता गौतमले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एक-आपसमा रिसाएको र त्यो रिस शान्त नभएसम्म दोस्रो तहका नेताको प्रयास पनि सार्थक नहुने बताएका हुन् ।

आफू भने पार्टी एकता गर्नुपर्छ भनेर अध्यक्ष ओलीतिर लागेको र त्यसका लागि दुवै नेताको रिस शिथिल पार्ने प्रयासमा जुटेको बताए । उनले सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता हुने ठोकुवा गरे । उनले भने, ‘एकता सम्भव छ । अहिले सम्भव नहोला । सर्वोच्चको निर्णय आएपछि एकता सम्भव होला भन्ने लागेको छ ।’

सेही क्रममा उनले भने, ‘एकै ठाउँ भएपछि त एकताको आवश्यकता नै पर्दैन नि । दुईतिररतिनतिर बाँडिएकाहरूलाई नै एकता गराउने हो । अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो । पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु । मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखेँ । हलले नै मलाई एकताको प्रयत्न मुख्य कुरा वामदेवले गर्नुपर्छ भन्ने पास गरेको छ । यस्तो बेलामा नआत्तिकन सबै साथीहरूलाई धैर्यधारण गरेर प्रत्यन्त गर्नुहोस् भनेर मैले अरूलाई भनेको छु । म त्यसका लागि प्रयत्नशील छु । लागिरहेको छु । माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओलीजीसँग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनुभएको छ । दुई जनाको रिस नमर्दासम्म उहाँहरूको मातहतमा रहेका साथीहरूको पनि चिन्ताले काम लाग्नेवाला छैन । म यी दुई जनाको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ भनेर म त्यतातिर लागिरहेको छु ।’

प्रतिक्रिया