गाउँका सिहदरबारमा समस्यै समस्या

admin

काठमाडौं, २२ असार : देशका २ सय २० वटा स्थानीय तह प्रशासकीय अधिकृतविहीन अवस्थामा छन् । प्रमुख प्रशासकीय अधिकृत नहँुदा ती स्थानीय तहले प्रशासनिकदेखि नीतिगत तहमा समेत विभिन्न समस्या भोग्न बाध्य भइरहेका छन् ।

महानगरपालिका, उपमहानगरपालिकादेखि नगरपालिका र गाउँपालिका गरी २ सय २० वटा स्थानीय तह लामो समयदेखि निमित्तका भरमा सञ्चालन भइरहेका छन् । गाउँको सिहदरबारका रूपमा रहेका स्थानीय तहमा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा ती स्थानीय तहले विकासका कार्य तथा सेवा प्रवाहसमेत प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको पाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार केन्द्रमा उपसचिव र शाखा अधिकृतको अभावका कारण स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गर्न कठिनाइ भएको हो ।

कोभिड समस्या तथा पदाधिकारीको अभावमा लोकसेवा आयोगले उपसचिव र शाखा अधिकृतमा पदपूर्ति प्रक्रिया समयमा नै सम्पन्न गर्न नसक्दा केन्द्रीय सरकारमा ठूलो संख्यामा उपसचिव र अधिकृत पद रिक्त रहँदै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका उपसचिव रूपनारायण खतिवडाका अनुसार हाल तीनवटा उपमहानगरपालिका, १ सयवटा नगरपालिका र १ सय २० वटा गाउँपालिका गरी २ सय २० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा रहेका छन् ।

उपमहानगरपालिकामा सहसचिव, नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतले प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गर्दै आइरहेका छन् । यसैगरी उपसचिव दरबन्दी रहेका २० वटा जिल्ला समन्वय समिति र शाखा अधिकृत दरबन्दी रहने १९ वटा जिल्ला समन्वय समिति पनि सो अवस्थामा रहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २ सय २० वटा निकायमा कनिष्ठ र अर्कै सेवा समूहमा कर्मचारीलाई निमित्तको जिम्मेवारी दिँदै आइरहेको छ । कानुनतः प्रमुख प्रशासकीय अधिकृत प्रशासन सेवातर्फको पद हो तर कतिपय स्थानीय तहमा प्रशासन सेवाका नभएर कृषि, प्राविधिक, कविराजलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिँदै आइएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया