मनसुन फेरि सक्रिय : यी प्रदेशमा भारी वर्षाको सम्भावना

admin

काठमाडौं, २३ असार : केही दिन केही कमजोर भएको मनसुन फेरि सक्रिय भएको छ । गएराति गण्डकी, लुम्बिनी, एक नम्बर र दुई नम्बर प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । सप्तरीको बर्मजिया र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा ठूलो वर्षा भएकाले बाढीको ख तरा बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

माउली खोलालगायत अन्य साना खोलाको तथा नदी तटीय क्षेत्रमा सतर्कता तहसम्मको बाढी आउन सक्ने भएकाले दिउँसोसम्म नै सतर्क रहन आग्रह गरिएको छ ।काठमाण्डौमा अहिले पानी नपरे पनि दिउँसोपछि पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश-१ र प्रदेश-२ मा ठूलो पानी पर्नेछ । प्रदेश-१ मा अति भारी वर्षाकाे सम्भावना रहेको मौसमविद्ले बताएका छन् । ५० देखि एकसय मिलिमिटर वर्षालाई भारी वर्षा र एक सय मिलिमिटरदेखि माथिको वर्षालाई अति भारी भनेर मापन गर्ने गरिन्छ ।

दिउँसाे प्रदेश-१ मा मात्रै अति भारी वर्षाको सम्भावना रहे पनि राति भने यो प्रदेशसहित वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-२ मा नै अति भारीको सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो । अबको दुई/तीन दिन नै ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरो र डुबानको जोखिम छ । यसपालि औसतभन्दा धेरै पानी परेको पनि मौसमविद्ले बताएका छन् । मनसुनको सुरुवाती महिनामा नै औसतभन्दा धेरै वर्षा भएको छ।

प्रतिक्रिया