एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छलफल सुरु

admin

काठमाडौं, २३ असार : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ । काठमाण्डौको एक होटलमा सुरु भएको वार्तामा विवाद समाधान कार्यदलले जुटाएको सहमति र मिल्न बाँकी विषयमा छलफल भइरहेको छ । छलफलमा महासचिव विष्णु पौडेलसहित मध्यम तहका नेताहरू पनि सहभागी छन् ।

ओली र नेपालबीच सहमति भएमा आजै संयुक्त वक्तव्य निकाल्ने तयारी रहेकाे बताइएकाे छ । यसैबीच नेकपा एमालेको विवाद समाधान कार्यदलले सहमति नजिकै पुगेको दाबी गरेको छ । सिंहदरबारमा आज बुधवार बसेको बैठकले धेरै कुरा मिलाएको र सहमति हुन बाँकी केही विषय भोलिसम्म टुङ्गो लाग्ने कार्यदलका सदस्य प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

गएको जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्ताले कार्यदल बनाएको थियो तर माधव नेपाल पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षका हस्ताक्षर गरेपछि कार्यदल निष्क्रिय बनेको थियो ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सकिएपछि फेरि सक्रिय बनेको छ । माधव नेपाल पक्षले निःसर्त रूपमा पार्टीलाई २०७५ सालको जेठ २ गतेअघि कै संरचना र सङ्गठनमा लैजानुपर्ने र सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर अदालतकै आदेशअनुसार नै हुने अडान लिएको छ । दुई पटक प्रतिनिधि सभा विघटन गरेर गल्ती गरेको भन्दै ओलीले आत्मालोचना गर्नुपर्ने पनि नेपाल पक्षको माग छ ।

तर प्रधानमन्त्री ओलीले भने आफ्नो निर्णय मान्दै पार्टीमा फर्कन निर्देशन दिँदै आउनुभएको छ । विवाद मिलाउन गठन भएको दश सदस्यीय कार्यदलमा ओली समूहकाे तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ ।

प्रतिक्रिया