सहकुल थापा एआइजीमा बढुवा

admin

काठमाडौं, २५ असार : सरकारले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थापालाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो।

बैठकले गृह मन्त्रालयको बढुवा सिफारिसलाई सदर गर्दै थापालाई बढुवा गर्ने निर्णय गरेको हो। बढुवा समितिले असार १४ गते थापालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

एआइजीमा बढुवा भएसँगै अब थापाले भावी आइजीपीका लागि अर्का एआइजी विश्वराज पोखरेलसँगै प्रतिस्पर्धा गर्नेछन्। यसअघि सरकारले थापाकै ब्याची विश्वराज पोखरेललाई एआइजीमा बढुवा गरेको थियो।

थापाले केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखाको प्रमुखका रुपमा काम गरिसकेका छन्। उनले चितवन, काभ्रेलगायतका जिल्लाको पनि प्रमुख भएर काम गरेका थिए। यस्तै, बैठकले सहसचिव कृष्णहरि पुष्करलाई सचिवमा बढुवा गरेको छ। बरियतामा एक नम्बरमा रहेका पुष्करलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय हो।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार (आज) बिहान सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय कृष्णहरि पुष्कर, खगेन्द्रप्रसाद नेपाल र किरण राज शर्माको नाम सचिव बढुवाका लागि सिफारिस गरेको थियो।

प्रतिक्रिया