डाक्टर र स्वास्थ्यकर्मीलाई कबुल गरेको जोखिम भत्ता तुरुन्त दिइयोस् : नेता शर्मा

admin

काठमाडौं, २६ असार : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले कोरोना उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीलाई जोखिम भत्ता तत्काल दिन माग गरेका छन् । नेता शर्माले शनिबार सामाजिक सञ्जालमार्फत सरकारले कबुल गरेको जोखिम भत्ता उनीहरूलाई दिन माग गरेका हुन् ।

सरकारले कोरोना भाइरस महामारीमा खटिने स्वास्थ्यकर्मीलगायत जनशक्तिलाई प्रोत्साहन स्वरूप ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो । उनीहरूका परिवारका सदस्यको उपचार र बिमाको व्यवस्थासमेत गरिने बताइएको थियो ।

घोषणामा भनिएको थियो, ‘कोभिड-१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसार प्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिनेछ ।’

अग्रपंक्तिमा खटिएर कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीले सरकारबाट जोखिम भत्ता नपाएको गुनासो बढ्न थालेपछि पूर्वमन्त्री शर्माले यस्तो माग गरेका हुन् । उनले भनेका छन्, ‘कोरोना महामारीमा जनताको जीवन रक्षा गर्ने डाक्टर र स्वास्थ्यकर्मीलाई कबुल गरेको जोखिम भत्ता तुरुन्त दिइयोस् ।’

प्रतिक्रिया