अब कोरोनाविरूद्ध खोपको अभाव हुँदैन, नेपालमा जति सस्तो स्वास्थ्य सुविधा कहीँ छैन : प्रधानमन्त्री

admin

काठमाडौं, २७ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको उद्घाटन गरेका छन् । आइतबार बिहान एक कार्यक्रमबीच उनले वीर अस्पतालमा रहेको नवनिर्मित सर्जिकल भवनसहित युनिफाइड केन्द्रीय अस्पतालको उद्घाटन गरेका हुन् ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरूद्ध खोपको अभाव नहुने बताएका छन् । केही समयअगाडि खोप अभाव हुन्छ कि जस्तो देखिए पनि अहिले खोप आउने क्रम सुरू उनले बताए । आइतबार वीर अस्पतालको सर्जिकल भवन उद्घाटन गर्दै उनले चीनबाट पनि खोप आइरहेको र अमेरिकाबाट पनि (भोलि) सोमबार खोप आउने भएकाले अभाव नहुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले २०२१ को अन्त्यसम्ममा सबैलाई खोप दिने लक्ष्य अनुसार सरकार अघि बढिरहेको जिकिर गरे । उनले कोरोना महामारी न्युनिकरणको अभियानमा लक्ष्य अनुसार सबैलाई खोप दिन ढिलो भएपनि नआत्तिन आग्रह समेत गरे । प्रधानमन्त्री ओलीले सरकारको निरन्तर प्रयासका कारण नै नेपालमा कोरोना नियन्त्रण हुन सकेको दावी गरे ।

आइतबार प्रधानमन्त्री ओलीले शिलापत्र अनावरण गरी नवनिर्मित सर्जिकल भवनको उद्घाटन गरेका हुन् । सरकारले ल्याएको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशमा वीर अस्पताललाई कोभिड-१९ युनिफाइड अस्पताल बनाइने उल्लेख छ । कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालमा रूपान्तरित यो सर्जिकल भवन ५ सय बेडको हुने बताइएको छ ।

यसै क्रममा प्रधानमन्त्री ओलीले नेपालमा जति सस्तो स्वास्थ्य सुविधा कहीँ नभएको बताएका छन् । संसारका जुनसुकै मुलुक भन्दा धेरै सस्तो उपचार नेपालमा भएको उनको भनाइ छ । आफ्नो किड्नी प्रत्यारोपण गर्दा ७/८ लाख रुपैयाँ मात्रै लागेको तर त्यही उपचार गर्दा अन्य देशमा धेरै खर्च लाग्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

अस्पतालको प्रमुख प्रशासकीय अधिकृतका रूपमा प्राध्यापक डाक्टर जागेश्वर गौतमलाई सरकारले नियुक्त गरेको छ । नयाँ भवनमा आगामी दिनमा २५ बेडको आकस्मिक कक्षलाई सय बेड, आइसीयूलाई २ सय बेड बनाइनुका साथै १५ बेडको मिर्गौला डायलसिसलाई बढाएर सय बेडमा स्तरोन्नति गरिने गौतमले जानकारी दिए ।

कम्तीमा दैनिक ७५ वटा सर्जरी, मासिक १५ वटाभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने लक्ष्य रहेको जनाउँदै उनले नयाँ भवनका लागि दुईवटा अक्सिजन प्लान्ट र एउटा लिक्विड अक्सिजन ट्यांक जडान गरिएको बताए । उक्त भवन २०७४ फागुन २५ गते प्रधानमन्त्री ओलीले शिलान्यास गरेका थिए ।

यसअघि वीर अस्पताल प्रतिष्ठानमार्फत सञ्चालन हुँदै आएको अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा छ । वीर अस्पतालका प्रमुख डा. गौतमले कोभिड-१९ महामारीका बाबजुद अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जानकारी दिए ।

प्रतिक्रिया