नेपाल आइपुग्यो एक डोज लगाए पुग्ने अमेरिकी खोपको १५ लाख मात्रा

admin

काठमाडौं, २८ असार : अमेरिकाले उपलब्ध गराएको एक डोज मात्र लगाए हुने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ । सोमबार बिहान कतार एयरवेजको नियमित उडानमार्फत् ल्याइएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए भने बालुवाटार पुगेर एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष हस्तान्तरण गरेका हुन् ।

सो क्रममा अमेरिकी सरकारले उपहार स्वरुप दिएको खोप नेपाली नागरिकको जीवनरक्षाका लागि सहयोगी हुने मन्त्री श्रेष्ठले बताए । यस्तै अमेरिकी राजदूत बेरीले पनि राजनीतिक लाभका लागि आफ्नो देशले खोपको व्यापार नगर्ने बताएका छन् । अमेरिकाले दिएको सो खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई दिने सरकारले तयारी गरेको छ ।

यसअघि चीनबाट खरिद गरिएको ८ लाख मात्रा भेरोसेल खोप नेपाल आइसकेको छ । चीनबाटै थप आठ लाख खोप आउँदो शुक्रबारसम्म ल्याउने तयारी छ । चीनबाट ल्याइएको भेरोसेल र अमेरिकाबाट आएको जोनसोन खोप के कसरी वितरण गर्ने भनेर सरकारले निर्णय गरिसकेको छैन । यसअघि निर्धारण गरिएको प्राथमिकताको आधारमा ६० वर्षमुनि उमेर समूहकालाई भेरोसेल खोप लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ ।

अमेरिकाबाट नेपालले पाउने जोनसन एन्ड जोनसनको खोप भने वैदेशिक रोजगारीमा जान सुनिश्चित भएका कामदार, शिक्षकसहित अग्रपङ्क्तिमा खटिने पेसाकर्मी र ५० देखि ५५ वर्षको उमेरसमूहलाई दिन प्रस्ताव गरिएको छ । यसबारे केही दिनभित्रै निर्णय हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा आएका यसअघिका भेरोसेल र कोभिसिल्ड खोप दुई डोज लगाउनुपर्नेमा सो खोप एक जोड मात्रै लगाए पुग्नेछ । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया