कोरोना रोग प्रधानमन्त्रीको प्रेमिकाजस्तो बन्यो : रामनारायण बिडारी

admin

काठमाडौं, २८ असार : राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री ओली बेठिक भएका कारण राज्यका सबै संयन्त्रहरूले दुःख पाएका बताएका छन्। प्रधानमन्त्री ओलीलाई असहज हुँदा कोरोना आउने र लकडाउन हुने तर प्रधानमन्त्रीलाई सहज हुँदा कोरोना नलाग्नेजस्तो गरिने गरेको बताए। राष्ट्रपतिको मुख्य काम प्रधानमन्त्री नियुक्त गर्नु भए पनि राष्ट्रपतिले संवैधानिक काम गर्न नसकेको उनले बताए।

भने, ‘कोरोना रोग प्रधानमन्त्रीको प्रेमिकाजस्तो बनेको छ। प्रधानमन्त्रीलाई असहज भयो कि यो उफ्रेर नेपालमा आउँछ। अनि निषेधाज्ञा, लकडाउन, बन्दाबन्दी बन्छ। प्रधानमन्त्रीलाई सजिलो भएपछि यो जान्छ। यसका निम्ति साइबरे सरकारीहरू सरकारी साधनमार्फत व्यापक प्रचार गर्छन्। नेपालीलाई कोरोनाले छुँदैन। छोए पनि बिरामी हुँदैन। बिरामी भए पनि मर्दैनन्। यस्तो भनेर परिणामतः के आयो भने अक्सिजनको अभाव भयो। औषधिको अभाव भयो। अस्पतालको अभाव भयो।’

उनले थपे, ‘भेन्टिलेटरको अभाव भयो। राष्ट्रपतिको मुख्य काम प्रधानमन्त्री नियुक्त गर्नु हो। तर गणतन्त्रको प्रतीकबाट संवैधानिक काम भएन। देश अस्तव्यस्त भयो। यसैगरी राष्ट्रिय सभा सदस्य भैरव श्रेष्ठले सरकारले समृद्धिको लागि काम गरेको र संविधान कार्यान्वयनको सम्बन्धमा कानुन निर्माणको काम गरेको देख्न नसकेर विपक्षी गठबन्धन अत्तालिएर सरकारको विरोध गरेको बताए। संसदले कुनै कानुन बनाउन नसक्ने र कुनै सरकार दिन नसक्ने स्थितिका कारण संसद विघटन गरिएको भए पनि असंवैधानिक कदम भनेर रटान लगाइएको बताए।

निर्वाचनमा जानु नै संविधानसम्मत र लोकतान्त्रिक अभ्यास भएको उनले जिकिर गरे। ‘न त्यो संसदले सरकार दिन सक्छ। न त्यो संसदले कानुन बनाउन सक्छ। न सार्वजनिक महत्वको विषयमा बोल्न सक्छ भने यस्तो संसदलाई राख्नुभन्दा बरु नयाँ जनादेशका निम्ति जनताका बीचमा जानुपर्ने कुराहरुलाई लोकतान्त्रिक अभ्यास गरिरहँदा त्यस्तो लोकतान्त्रिक अभ्यासलाई गैरसंवैधानिक भनियो।

हामीले कस्तो खालको लोकतान्त्रिक अभ्यासलाई संवैधानिक सम्मत भन्न सक्छौँ? निर्वाचन भन्नबित्तिकै डराउने, निर्वाचनमा जान नचाहने, यदि केपी ओलीले गल्ती गरेको भएदेखि जनताले सजाय दिन सक्छन्। तर हामी निर्वाचनदेखि भाग्ने काम गर्‍याैं। सधैँ प्रतिगामी भनेर त्यही रटान गर्दै आयौँ।’

प्रतिक्रिया