सानो मन्त्रिपरिषद् बनाउने गठबन्धनकाे निर्णय

admin

काठमाडौं, २८ असार : विपक्षी गठबन्धनकाे बैठकले सुरुमा सानो आकारको मन्त्रिपरिषद् बनाउने निर्णय गरेको छ। बैठकले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै नयाँ सरकार बनाउन लागिपर्ने निर्णय गरेको छ।

एमाले बरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर नजिकै बसेको विपक्षी गठबन्धनको बैठकले उक्त निर्णय गरेको हो। बैठक मंगलबार बिहान पनि बस्ने नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

बैठकले भोलि नै केही मन्त्रीको टुंगो लगाउने उनले बताए। राष्ट्रिय सरकार बनोस् भन्ने आफूहरूको चाहना रहेको समेत खाँणले बताए। यस्तै बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नयाँ सरकार प्रतिनिधि सभाको बाँकी अवधिका लागि बन्ने बताए।

बैठकमा सहभागी पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा बाबुराम भट्टराईले गठबन्धन सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको जानकारी दिए। यस्तै कोभिडका कारण अर्थतन्त्रमा देखिएको संकट निराकरण र भ्याक्सिनको आपूर्ति तथा व्यवस्थापनबारे पनि छलफल भएको उनले बताए।

ओलीले राज्यका सबै संरचना ध्वस्त पारेको आरोप लगाउँदै उनले भत्काएका अन्तर्राष्ट्रिय सम्बन्धका संरचनालाई पनि विकास गर्ने उनको भनाइ थियो। नेपाल पक्षका नेता रघुजी पन्तले देउवाको नेतृत्वमा सरकार बन्ने भएकाले उनले नै सबैलाई समेटेर जान सक्नुपर्ने धारणा राखेका थिए।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँड सहभागी थिए।

यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख कृष्ण बहादुर महरा, वर्षमान पुन, प्रवक्ता नारायणकाजी श्रेष्ठ, देव गुरुङ बैठकमा सहभागी थिए।

एमालेबाट नेता नेपाल र पन्त तथा जसपा अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव र राष्ट्रिय जनमोर्चाबाट सांसद दुर्गा पौडेल बैठकमा सहभागी थिए। सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्न तथा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ।

प्रतिक्रिया