जेनेभामा फेरी ग्रेटर नेपाल

admin

काठमाडौं, २९ असार : ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले फेरी एकपटक अन्तर्राष्ट्रिय समुदायसमक्ष ग्रेटर नेपालको आवाज उठाएका छन् । स्विटजरल्यान्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ४७औँ सत्रको समानान्तर कार्यक्रममा उनले यो आवाज उठाएका हुन् ।

स्विटजरल्यान्डको जुरिचबाट सञ्चालन गरिएको Indian Hegemony and Interferences in Nepal विषयको एक वेबिनारमा (हिजो) सोमबार १२ जुलाईको साँझ ४ बजे काठमाडौंबाट सहभागी हुँदै उनले अन्तर्राष्ट्रिय मञ्चमा ग्रेटर नेपालको माग दोहोर्याएका हुन् ।

AIBaraem Association for Charitable Work , European Institute for Economics , Political and Social Research, Universal Human Rights Council, International Human Rights Movement र Geneva School of Business and Economics नामक पाँच संस्थाको प्रायोजनमा भएको उक्त वेबिनारको moderator मा University of Savoie Mont Blank– France की मेगान सेभेराक रहेकी थिइन् ।

ग्रेटर नेपालका फणीन्द्र नेपाललाई मुख्य प्रस्तोता बनाइएको जुरिचबाट सञ्चालित र जेनेभाबाट प्रसारित उक्त वेबिनारमा अन्तर्राष्ट्रिय युवा समाज, नेपालका सभापति डा. पिया रत्न महर्जन र श्रीलंकाका Research fellow डा. एम शरीफ असीसले नेपालमा इन्डियाको प्रभुत्ववादी व्यवहार र हस्तक्षेपका विषयमा चर्चा गरेका थिए ।

वेबिनारका मुख्य प्रस्तोता फणीन्द्र नेपालले इन्डियाले नेपालमा प्रदर्शन गरेको प्रभुत्ववादी व्यवहार र उसले यहाँ प्रत्येक क्षेत्रमा गरेको हस्तक्षेप तथा पुर्याएको अवरोधका बारेमा गरेका थिए । उनले करिब ६०००० वर्ग किलोमिटर नेपाली भूमिमा सात दशकभन्दा बढी समयदेखि उपनिवेश कायम गर्दै आइरहेको भन्दै त्यसबाट मुक्तिका निम्ति इन्डियालाई दबाब दिन अन्तर्राष्ट्रिय जगत्लाई आह्वान गरेका थिए ।

यसका अतिरिक्त उनले लिम्पियाधुरा-कालापानी-लिपुलेकलाई इन्डियाको राजनीतिक नक्सामा राखेर खुला रूपमा अतिक्रमण, कब्जा र विस्तार गरेको, तराईको सिमानामा अन्तर्राष्ट्रिय कानुनविपरीत सडक र बाँध निर्माण गरी पानीको प्राकृतिक बहाव रोकेर नेपाली किसानको खेतीयोग्य जमिन डुबाई अस्तव्यस्त बनाएको र इन्डियाली नागरिकता ऐनमा संशोधन गरेर इन्डियाको निर्माण हुनुभन्दा सयौं वर्ष अघिदेखि बसिरहेका नेपालीभाषीलाई आफ्नै देशमा शरणार्थी बनाई मानवअधिकारमाथि खुल्ला रूपमा प्रहार गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया