आज बेलुकादेखि नै तमासा सुरु हुन्छ, अदालतको फैसलाले लोकतन्त्रमा विश्वास राख्नेहरुलाई निराश बनायो : ओली

admin

काठमाडौं, २९ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रमा विश्वास राख्नेहरुलाई निराश बनाएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिनुअघि देशवासीका नाममा सम्बोधन गर्दै सर्वोच्चको (हिजो) सोमबारको फैसलाले लोकतन्त्रमा विश्वास राख्नेहरुलाई र संविधानको सर्वोच्चतामा विश्वास गर्नेहरलाई निराश बनाएको दाबी गरेका हुन् ।

उनले भने, ‘दलीय व्यवस्थालाई फैसलाले के गर्यो, त्यो पछि थाहा होला, संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले फैसला कार्यान्वयन गरेका छौँ ।’ ताजा जनादेशका लागि जनतामा जाने निर्णयलाई निरङ्कुश भन्ने र अर्कै फैसला गर्नु कत्तिको उचित हो भनेर ओलीले प्रश्न गरेका छन् ।

सर्वोच्चको फैसलाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको शक्ति सन्तुलनलाई प्रभाव पारेको ओलीको दाबी छ । एउटै दलका सांसद सत्तापक्ष र प्रतिपक्ष बन्न पाउने सर्वोच्चको फैसलाले लोकतान्त्रिक व्यवस्था र दलीय कानुनको धज्जी उडाएको ओलीको आरोप छ । यस्तै प्रधानमन्त्री ओलीले अब देशलाई खोपको अभाव नरहेको ओलीको दाबी छ ।

आफ्नो कार्यकालमा प्राप्त भएका कोरोनाविरुद्धको खोपको फेहरिस्त सुनाएका उनले कतिपय खोप आइसकेको र कतिपय प्रक्रियामा रहेकाले कुनै अभाव नहुने बताएका हुन् । उनले आफ्नो कार्यकालमा खोपको व्यवस्था गरेपछि अब आज भोलिदेखि नै सरकारमा रहेकाहरूले आफैले खोपको व्यवस्था गरे जसरी तमासा हुनु गर्ने बताए । उनका अनुसार भारतबाट अनुदानमा ११ लाख जोड खोप प्राप्त भएको छ ।

यसैगरी चीनबाट ४० लाख डोज खोप खरिद गरेको उल्लेख गर्दै जसमध्ये ८ लाख डोज खोप नेपाल आइसकेको जानकारी दिए । उनले अरू ३२ लाख डोज खोप क्रमशः आउने पनि विश्वास व्यक्त गरे । उनले यसअघि नै चीनबाट १८ लाख डोज खोप प्राप्त भएको पनि जानकारी दिए । यस्तै चीनले नै १६ लाख डोज अनुदानमा दिने घोषणा गरेको पनि ओलीको भनाइ छ ।

सम्बोधन गर्दै ओलीले थप ६० लाख डोज खोप खरिद प्रक्रिया सुरु भइसकेको भन्दै ओलीले अमेरिकाबाट सोमबार मात्रै १५ लाख चानचुन डोज खोप नेपाल आएको बताए । जापानबाट १६ लाख खोप दिने घोषणा भएको उल्लेख गर्दै ओलीले कोभ्याक्स अन्तरगत ३ लाख ४८ हजार बढी डोज खोप आएको र ३ लाख ५० हजार डोज आउने क्रममा रहेको उनको भनाइ छ ।

त्यस्तै जोनसनको ५० लाख डोज, मोडर्नाको ४० लाख, फाइजरको ४० लाख र कोभिसिल्ड २० लाखसमेत गरी १ करोड ५० डोज खोप सुविधा मूल्यमा केही प्राप्त हुने क्रममा रहेको ओलीको भनाइ छ । बालबालिकालाई दिन मिल्ने खोप ६० लाख डोज खरिद प्रक्रियामा रहेको पनि ओलीको भनाइ छ ।

उनले भने, ‘हुन त मलाई थाहा छ, भरै बेलुका वा भोलि बिहानबाट सुरु हुनेछ–हामीले ल्याइदिएर लगाइरहेको खोप फोटो खिचेर अघिल्लो सरकार गयो हामीले खोप दिन थाल्यौ भनेर तमासा सुरु हुनेछ । जादु गरेर उनीहरूले आजै खोप ल्याएको हो कि जसरी प्रचार गर्नेछन् ।’ उनले आफूलाई प्रचारको प्रतिस्पर्धा गर्न मन नभएको भन्दै आफ्नो कार्यकालमा देश र जनताको लागि धेरै काम गरेको बताए ।

प्रतिक्रिया