विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, म नेतृत्वको सरकार ऐतिहासिक रूपमा सफल भयो : केपी ओली

admin

काठमाडौं, २९ असार : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकारबाट बाहिरिँदा रत्तीभर चिन्ता नभएको दाबी गरेका छन् । सोमबारको सर्वोच्चको फैसलापछि प्रधानमन्त्रीबाट बिदा हुनुअघि सम्बोधन गर्दै ओलीले आफूले देश र जनताको पक्षमा काम गरेकोले कुनै चिन्ता नभएको बताएका छन् । उनले आफ्नो नेतृत्वमा चौतर्फी विकास भएको दाबी समेत गरे ।

कुनै व्यक्तिको इच्छा पूरा गर्न नेपालको संविधान र लोकतान्त्रिक प्रणालीमा खेलाँची भएकोमा चिन्ता रहेको उल्लेख गरे । उनले नेपालका लागि चाहिने कोभिड खोपको आफूले व्यवस्थापन गरेको पनि दाबी गरे । उनले छोटो समयमै नागरिकका लागि खोपको व्यवस्था गरेको दाबी गर्दै सन् २०२१ भित्र सबै जनतालाई खोप सुविधा पाउने बताए । १ करोड ३६ लाख डोज खोप सुनिश्चित भएको दाबी गर्दै केही महिनामा सबै नेपालीले खोप लगाउन पाउने दाबी गरे ।

यस्तै प्रधानमन्त्री ओलीले विश्वमै पहिलो पटक अदालतले बहालवाला प्रधानमन्त्रीलाई अदालतले हटाउँदै नयाँ नियुक्ति गरेको बताएका छन् । सम्बोधनको क्रममा ओलीले विश्वको इतिहासमा पहिलो पटक सम्मानित अदालतले प्रधानमन्त्रीलाई हटाएर नयाँ नियुक्त गर्ने आदेश दिएको बताए । ‘जनताको बीचमा जान आँट नगर्ने । अदालत गएर मुद्दा लडेर करेसाबारीको झगडा हो यो ? गजब छ’, उनले भने, ‘विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, प्रधानमन्त्री हटाइयो । यही विश्व न्यायिक प्रणालीमा अनुकरणीय भएछ भने विडम्बना भन्नुपर्ला ।’

उनले यो फैसला इतिहासको कडीमा परीक्षित हुन भने बाँकी रहेको ओलीको भनाइ छ । यसैगरी आफू नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गर्दा ढलाइएको पनि ओलीको गुनासो छ । ‘एमालेको सरकार ढलाइयो, यो सरकार किन ढलाइयो भने सरकारले सार्वभौमसत्ताको पक्षमा काम गर्‍यो । विकासको पक्षमा काम गर्‍यो । जनतालाई राहत सुविधा पुर्‍याउने, अधिकार सम्पन्न बनाउने कुरामा काम गर्‍यो । यी दिशामा धेरै काम गर्‍यो । अरू त कुनै कारण छैन। ’ उनले भने ।

उनले सरकारमा नरहे पनि आफूले निरन्तर देश र जनताको पक्षमा काम गरिरहने पनि ओलीले बताए । ओलीले आफ्नै पार्टीका २६ जना अराजक सांसदका कारण प्रधानमन्त्री पद गुमाउनु परेको बताएका छन् । ओलीले आफ्नै दलका ती २६ जना विद्रोही मात्र नभई अराजक भएर विपक्षीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर लिएर राष्ट्रपतिकोमा गएको उल्लेख गरे ।

उनले फुटबल खेलमा आफ्नो पक्षका खेलाडीलाई बल पास गर्नुपर्नेमा विपक्षी दललाई बल पास गरेको टिप्पणी गरे । आफूले गरेका राम्रा कामबाट आत्तिएर पार्टीको साधारण सदस्यबाट समेत हटाउने काम गरेको समेत स्मरण गरे । उनले अदालतको फैसला अनुचित आए पनि त्यसलाई पालना गरेर अघि बढ्ने उल्लेख गरे । ओलीले आफू नेतृत्वको सरकार ऐतिहासिक रूपमा सफल भएको दाबी पनि गरेका छन् । उनले आफू नेतृत्वको सरकारलाई साथ सहयोग गर्ने सबैमा धन्यवाद पनि आभार प्रकट गरे ।

‘मेरो नेतृत्वमा सञ्चालित सरकार ऐतिहासिक रूपमा सफल सरकार हो । त्यसको सफलतामा धेरैको योगदान छ’, उनले भने, ‘सबैको सद्भावले यो सफलता प्राप्त भएको हो । यसले हामीलाई ऊर्जा प्राप्त दिएको छ ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेकाले उनी आजै सत्ता सञ्चालनको बागडोर छाडेर सिंहदरबारबाट बिदा भएका छन् । ओलीले सर्वोच्च अदालतले अत्यधिक न्यायिक सक्रियतासहित राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दिन खोजेको टिप्पणी गरेका छन् ।

सम्बोधनकै क्रममा उनले कहिलेकाँही मागै नभएका विषयमा पनि हात हालेर गन्तव्यमा पुग्न नसकिने जनाउँदै भने, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरुको हो तर रेफ्री आफैँले खेल खेल्ने चाहना राखेमा समस्या हुन्छ । अदालतको फैसलाबाट दलीय प्रणालीमाथि धक्का दिइएको छ । संविधान संशोधन गराउन खोजिएको छ । राज्यका अङ्गहरुमाथि जनताको विश्वास गुम्ने र जनतामा नैराश्य उत्पन्न भई भयावह दुष्परिणाम ल्याउन सक्ने स्थिति पैदा गराइएको छ ।’

सर्वोच्च अदालतको सोमबारको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापित भएको छ भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आजै प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आफ्नो प्रधानमन्त्रित्वको अन्तिम दिन उनले पहिला पनि आफू सरकारबाट बाहिरिएको र जनताका मतबाट पुनः सरकारको नेतृत्वमा पुगेको स्मरण गर्दै कहिलेकाहीँ जनताका अपेक्षा र संसदीय अंकगणितका बीचमा विरोधाभास हुने भएकामा अब राज्यका अनय निकायका फैसलामा पनि विरोधाभास देखिने स्थिति आएको भनाइ व्यक्त गगरे ।

“मेरो अटल विश्वास जनतामाथि छ । यो नै अन्तिम होइन । सरकारबाट बाहिरिनु परेकामा मलाई रत्तिभर चिन्ता छैन, मैले देश र जनताको हित र सेवालाई ध्यानमा राखेर सम्पूर्ण इमान्दारी तथा विकासलाई नयाँ सोचसहित असाधारणरुपमा अगाडि बढाएँ”, प्रधानमन्त्री ओलीले भने, “प्रतिकूल अवस्थामा पनि महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सफल भएका छौँ । मलाई प्रचार गर्नु छैन, देश र जनताका लागि काम गर्नु छ । म जहाँ रहेर पनि त्यही भूमिका निर्वाह गर्नेछु ।”

प्रतिक्रिया