ललिता निवास प्रकणर : विशेष अदालतमा हाजिर भए विजयकुमार गच्छदार

admin

काठमाडौं, ३० असार : नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार विशेष अदालतमा उपस्थित भएका छन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकणरमा मुछिएका गच्छदार फरार थिए । उनी बुधबार विशेष अदालतमा उपस्थित भएको उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए ।

भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत नगएका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै विशेष अदालतमा हाजिर भएका हुन् ।

बालुवाटारको ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । उनीसँगै १ सय ७५ जना विरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । अदालतले गच्छदारविरुद्ध पछिल्लो पटक जारी गरेको ३० दिनको म्याद सकिएको थियो । गच्छदार अदालतमा हाजिर भएपछि अब थुनछेकको प्रक्रिया अघि बढ्नेछ ।

 

प्रतिक्रिया