माधव नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्वरमा

admin

काठमाडौं, ३० असार : प्रधानमन्त्री शेरबहादुर देउवा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् । प्रधानमन्त्री देउवा र नेता नेपालबीच अहिले कुराकानी भइरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले एमाले विवादमा सरकारका तर्फबाट गर्न सकिने सहजीकरणका लागि नेपालसँग छलफल गरेको बुझिएको छ ।

बुधबार मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सरेका एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई एमालेमा स्वीकार गर्न नकिने बताएका थिए । प्रधानमन्त्री देउवालाई पनि विश्वासको मत लिन नेपाल पक्षको आवश्यकता छ । प्रतिनिधि सभा बचाउन नेपालले फेरि पनि साथ दिने देउवाको विश्वास छ ।

पार्टीको निर्देशन अटेरी गर्दै माधव नेपाल समूहले साथ दिएपछि प्रधानमन्त्री बन्द देउवालाई बहुमत पुगेको थियो । माधव नेपाल पक्षका सांसदको हस्ताक्षरलाई राष्ट्रपति कार्यालयले मान्यता नदिए पनि सर्वोच्च अदालतले हस्ताक्षरलाई वैध ठहर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । एमालेको नेपाल समूहका २६ जना सांसदको समर्थनमा देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया