उपत्यकामा कडाइका साथ लामो दुरीका सार्वजनिक गाडी भोलिदेखि जोर-बिजोर प्रणालीमा चलाउने तयारी

admin

काठमाडौं, ३१ असार : साउन १ गते अर्थात् (भोलि) शुक्रबारदेखि लामो दुरीका सार्वजनिक गाडी जोर-बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको छ । यसबारे बिहीबार स्वास्थ्य मन्त्रालयसहित काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुख र सम्बन्धित अन्य निकायको बैठक बस्दैछ ।

लामो दुरीका गाडी नचल्दा नागरिकले धेरै दुःख पाएको भन्दै जोर-बिजोर प्रणालीमा भए पनि सार्वजनिक गाडी चलाउन दिने तयारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । कामका लागि काठमाडौं आउनै पर्ने यात्रुहरुले तेब्बर-चौबर भाडा तिर्नु परेको गुनासो बढेपछि जोर-बिजोर प्रणालीमा लामो दुरीका गाडी चलाउने तयारी थालिएको हो ।

यसबारे बेलुकासम्ममा निर्णय हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । यस्तै बजारमा शुक्रबारदेखि निषेधाज्ञा कडा पार्ने हल्ला चलेको भन्दै उनले हल्लाको पछि नलाग्न पनि आग्रह गरेका छन् । अहिले कोरोना संक्रमण जोखिम नै रहेकाले साउन १ गतेदेखि कडा निषेधाज्ञा हुने हल्ला फैलिरहेको छ । तर हल्ला फैलिए जस्तो कुनै पनि गतिविधि नहुने हुँदा किनमेलका लागि बजारमा भिडभाड नगर्न पनि उनको आग्रह छ ।

यसैबीच काठमाडौं उपत्यकामा निषेधाज्ञालाई निरन्तरता नै दिने तयारी भएको छ । अहिलेको जस्तै खुकुलो बनाएर केही दिन निषेधाज्ञालाई लम्ब्याउने तयारी गरिएको हो । उपत्यकामा पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि बिहीबार राति १२ पछि सकिँदैछ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको हो ।

प्रतिक्रिया