किन दोहोरो दबाबमा देउवा ?

admin

काठमाडौं, ३१ असार : संवैधानिक व्यवस्थाअनुसार आगामी भदौभित्र नेपाली कांग्रेसको १४औं महाधिवेशन गर्नैपर्ने बाध्यता छ । महाधिवेशनको तयारी तीव्रगतिले अघि बढ्न नसकेका बेला कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर आइपुगेको छ । पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनमा जाने निर्णयलाई बदर गर्दै सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री दाबी गरेका शेरबहादुर देउवालाई सो पदमा नियुक्त गर्न परमादेश जारी गर्‍यो ।

सोहीअनुसार कांग्रेस संसदीय दलका नेता एवं पार्टी सभापति देउवा मंगलबार प्रधानमन्त्री भएका छन् । मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी समालेका देउवा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने र भदौमा पार्टीको महाधिवेशन गर्नुपर्ने दबाबमा छन् । भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भनिएको कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने जनाउँदै तयारी थालेका देउवाले नेतृत्वमा फेरि दोहोरिनका लागि पार्टीभित्र पनि समीकरण निर्माण गर्नुपर्ने र यही समयमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट सरकारका पक्षमा विश्वासको मत जुटाउनुपर्नेछ ।

एमाले नेता माधवकुमार नेपालसहित असन्तुष्ट २६ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षरमात्र होइन्, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमै उपस्थित भएर साथ दिएका थिए । तर, सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै देउवा नेतृत्वमा सरकार गठनका लागि परमादेश गरेलगत्तै बसेको गठबन्धन बैठकमा नेपालले अब आफू यस्तो बैठकमा सहभागी नहुने धारणा राखेका थिए ।

आफ्नो पार्टी एमालेभित्रको विवाद समाधानतर्फ उन्मुख भएको जनाउँदै उनले गठबन्धनबाट अलग हुने बताएका थिए। एमाले नेता नेपालको उक्त अभिव्यक्तिपछि नवनियुक्त प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा आशंका उब्जिएको थियो । एमाले नेता नेपालसहित २३ सांसदको समर्थन प्राप्त नभए अहिलेको अवस्थामा देउवालाई १ सय २३ सांसदको मात्र समर्थन प्राप्त हुनेछ ।

उक्त संख्याले देउवा नेतृत्व सरकारले विश्वासको मत प्राप्त गर्न नसक्ने र संवैधानिक व्यवस्थाअनुसार नै प्रतिनिधिसभा विघटन हुनेछ । र, मुलुक मध्यावधि निर्वाचनमा जानेछ । त्यसले गर्दा दबाबमा परेका देउवाले बुधबार एमाले नेता नेपालको निवास पुगेर सरकारलाई सहयोग गर्न आग्रह गरे । डेढघण्टाको भेटमा देउवाले प्रतिनिधिसभालाई पूर्णकार्यकाल चलाउन नेपालसहित एमालेका सांसदहरूको साथ र समर्थन मागेको स्रोतको दाबी छ ।

एमालेभित्रको विवादले नयाँरुप लिँदै गइरहेका बेला नेता नेपालले प्रधानमन्त्री देउवाको पक्षमा विश्वासको मत नजुट्ने अवस्थामा आफूले सहयोग गर्ने आश्वासन दिएका छन् । त्यसमा ढुक्क रहन उनले देउवालाई भनेको निकट स्रोतको दाबी छ । नागरिक दैनिक

प्रतिक्रिया