नुवाकोटमा किर्ते समिति बनाएर सडक निर्माण

admin

नुवाकोट, ३१ असार : नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १३ खुर्सानीमा किर्ते समिति बनाएर सडक निर्माण गरिएको छ । वडामा जनप्रतिनिधिको रोहवरविना किर्ते उपभोत्ता समिति गठन गरि गैरीथोक-खुर्सानी सडक आयोजना निर्माण गर्नुपर्नेमा समितिले आफ्नो पाएक पर्ने स्थानमा मनोमनी ढंगले सडक निर्माण गरेको भन्दै स्थानियवासीले गुनासो गरेका छन् ।

वडा नम्बर १३ खुर्सानीमा निर्माण थालिएको भनिएको सडक आयोजनाको लागि वडा वाहिरका युवाहरुको जमात खडा गरि उपभोत्ता समिति गठन गरेको स्थानिय हिम्मत थापामगरले जानकारी दिए । प्रदेश सरकारको सांसद विकास कोषको २० लाख रुपैयाँ र नगरपालिकाको ५ लाख रुपैयाँ सहित २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भनिएको सो सडकमा समेत गुणस्तरहीन सामान राखेको स्थानिय टेकबहादुर थापामगरले बताए ।

उनले वडा नम्बर १३ मा निर्माण सडक निर्माण गर्दा वडा नम्बर ८ का युवाहरुको जमात जम्मा गरेर आफ्नै घर र खेतलाई तर मात्र सडक निर्माण गरिएको उनले बताए । त्यस्तै वडा नम्बर १३ का वडाध्यक्ष दलवहादुर तामाङले वडाका जनप्रतिनिधिहलाई जानकारी नदिई किर्ते समिति बनाई विदुर नगरपालिकामा दर्ता गरिएकोले भुक्त्तानी रोक्नको लागि नगरपालिकामा पत्र पठाएको बताए ।

वडाध्यक्ष तामाङले किर्ते समितिलाई योजना दिएर स्थानिय समितिलाई काम गर्न नदिएको बताए । उनले किर्ते समितिले गुणस्तरहीन काम गरेको र समिति नै अवैधािनक भएको भन्दै रकम भुक्त्तानी नगर्नको लागि विदुर नगरपालिकामा पत्र काटेको बताए । यस्तै वडासदस्य कल्पना विकको रोहवरमा बनेको वैधानिक समितिका अध्यक्ष शिवशंकर थापामगरले आफुहरुको काम गर्न पाउने अधिकारलाई किर्ते समितिले समस्यामा पारेको बताए । यस विषयमा जानकारी लिन खोज्दा किर्ते समितिका अध्यक्ष भनिएका जीवन आलेमगर संम्पर्कमा आउन चाहेनन् ।

किर्ते समितिले अन्यत्र निर्माण गरेको सडकमा समेत गुणस्तरहीन सामान राखेको विषयमा बोल्दा किर्ते समतिका अध्यक्ष लगायतले वैधानिक समितिका सदस्य समेत रहेका हिम्मत थापामगरको घरमा तोडफोड गरेका छन् । स्थानिय युवाहरुको समुहले आफ्नो घरमा तोडफोड गरेको हिम्मतले गुनासो गरे । घर तोडफोड गरिएको विषयमा प्रहरी र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपनि सुनुवाई नभएको उनले बताए । – बिदुरखबरबाट साभार 

प्रतिक्रिया