भोलि प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटार सर्ने, देउवाको व्यस्तता बढेपछि बैठक स्थगित

admin

काठमाडौं, ३१ असार : प्रधानमन्त्री शेरबहादुर देउवा (भोलि) शुक्रबार सरकारी निवास बालुवाटार सर्ने भएका छन् । गएको मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिए पनि उनी शुक्रबार मात्रै सरकारी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेसँगै देउवा शुक्रबार बूढानीलकण्ठबाट बालुवाटार सर्न लागेका हुन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गएको सोमबार प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । प्रधानमन्त्री देउवा छलफल र भेटघाटमै व्यस्त छन् । एमाले नेता माधवकुमार नेपाल पक्षको सहयोग नपाए देउवा नेतृत्वको सरकारले ३० दिनभित्र विश्वासको मत नपाउने जोखिम छ । बुधबार उनले नेता नेपाललाई आफूलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

कांग्रेस पदाधिकारी बैठक स्थगित
नेपाली कांग्रेसको बिहीबार बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । आउँदो महाधिवेशन र सरकार सञ्चालनका विषयमा छलफल गर्नका लागि बिहीबार दिउँसो २ बजे पदाधिकारीको बैठक बस्ने तयारी थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण बहीबारको बैठक (भोलि) शुक्रबारका लागि सारिएको पार्टी कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसमा मन्त्री बन्ने आकाङ्क्षी धेरै भएकाले सबै पक्ष समेटेर मन्त्री बनाउन देउवालाई दबाब रहेको छ । यस्तै चौधौँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको विवाद पनि छिटै टुङ्ग्याउनुपर्ने माग बढ्दै गएको छ । सदस्यताको विवादलाई लिएर पार्टी कार्यालयमै नेता कार्यकर्ताले धर्ना दिइरहेका छन् ।

प्रतिक्रिया