अध्यक्ष दाहाल, नेता नेपाल र विप्लवबीचको भेटवार्तामा छलफल के भयो ?

admin

काठमाडौं, ३१ असार : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच बिहीबार भेटवार्ता भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न प्रचण्ड र नेत्रविक्रम चन्द विप्लव नेता नेपालको निवास कोटेश्वर पुगेका हुन् ।

भेटमा अहिलेको राजनीतिक परिस्थिति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोलाले जानकारी दिएका छन् । बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवासित पनि भेटघाट गर्ने तयारी रहेको नेता बाँस्तोलाले बताए । (हिजो) बुधबार विप्लवले अध्यक्ष दाहाललाई उनकै निवास खुमलटारमा पुगेर भेटेका थिए । एमालेभित्र अन्तर-द्वन्द्व बढिरहेकै बेला अहिले भइरहेको भेटघाटलाई महत्त्वका साथ हेरिएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि एमालेभित्र फेरि विवाद बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालकै कारण पछिल्लो स्थिति सिर्जना भएकाले उनलाई एमालेमा कुनै ठाउँ नभएको टिप्पणी गरेका छन् भने नेपाल पनि ओलीसँग एकताको पक्षमा छैनन् ।

प्रतिक्रिया