आज साउने सङ्क्रान्ति मनाइँदै, के छ यसको महत्त्व ?

admin

काठमाडौं, १ साउन : आज (शुक्रबार) साउने सङ्क्रान्ति । स्नान, दान एवं आफन्त जम्मा भइ रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ ।

माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ । आज बेलुका लुतो फाल्ने चलन पनि छ । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्दै लुतो लैजा भन्ने गरिन्छ ।

लुतो फाल्दा आ-आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । असार महिनामा धेरैजसो खेतीमा व्यस्त हुने हुँदा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् डाक्टर रामचन्द्र गौतमले बताउनुभयो । यस्तै, साउन महिनालाई विशेषरुपमा भगवान शिवको पूजा गरेर मनाइन्छ ।

महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको पनि देखाउने गरिएको छ । साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले धेरै भीडभाड नगरि पर्व मनाउन विज्ञको आग्रह छ ।

साउने सङ्क्रान्तिको महत्त्व
कुनै पनि ग्रह एउटा राशिबाट अर्को राशिमा जाने समयलाई सङ्क्रान्ति भनिन्छ । अन्य ग्रहहरू भन्दा सूर्य ग्रहको राशि परिवर्तनको समयलाई अर्थात् सूर्यको सङ्क्रान्तिलाई ज्योतिष शास्त्रमा महत्त्वपूर्ण मानिएको छ । प्राचिन ज्योतिष शास्त्रका विद्वानहरूले सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने समयको १६ घडीअघि र १६ घडीपछिको समयलाई विशेष पुण्य समय भनेका छन् । १६ घडीमा पनि जति सक्दो राशि पर्वतनको नजिकको समयलाई झनै पुण्यदायी समय मानिन्छ ।

सूर्य ग्रहको गतिको आधारमा नै महिना र गतेको गणना गरिन्छ । सूर्यको आधारमा नै गतेको गणना गरिने भएकाले सङ्क्रान्ति पनि सूर्यको आधारमा नै हेरिन्छ । सूर्यले सौरमण्डलको परिक्रमा गर्न तीन सय ६५ दिन अर्थात् एक वर्ष लगाउँछ । सूर्यले सौरमण्डलमा मेष राशिमा प्रवेश गर्ने दिनलाई वैशाख १ गते भनिन्छ । यही सूर्य सौरमण्डलमा आफ्नो दुरी पार गर्दै जेठ १ गते वृष राशिमा, असार १ गते मिथुन, साउन १ गते कर्कट राशिमा हुँदै माघ महिनाको १ गते मकर राशिमा प्रवेश गर्दछ ।

माघ १ गतेदेखि नै सूर्य उत्तरतिर लाग्ने भएकाले माघ १ गतेदेखि उत्तरायण सुरु हुन्छ । र असारको मसान्तसम्म सूर्य उत्तरायण भइ साउन १ गतेदेखि सूर्य दक्षिणायन हुन्छ । हाम्रो देश नेपाल तथा आसपासका देशहरू पृथ्वीको उत्तरी गोलार्द्धमा पर्दछन् । त्यस कारण साउन महिनाको १ गतेदेखि नै सूर्य पृथ्वीको उत्तरी गोलार्द्धबाट दक्षिणी गोलार्द्धतिर बढ्छ । अर्थात् यो समयमा सूर्य अन्य समयभन्दा टाढा जान्छ र यस बेलादेखि दिन छोटो र रात लामो हुने गर्दछ ।

बृहद् ज्योतिषसार नाम गरेको ज्योतिष ग्रन्थका अनुसार सोमवार, बिहीवार, बुधवार तथा शुक्रवार परेको सङ्क्रान्तिले मानिसमा सुस्वास्थ्य, दीर्घायु, एक-आपसमा प्रेम जस्ता कुराको वृद्धि गर्ने र सम्पूर्ण मनुष्य जगतको कल्याण हुने मानिन्छ ।आइतवार, शनिवार तथा मङ्गलवार सङ्क्रान्ति पर्नु चाहिँ खासै शुभ मानिँदैन । यस पटक साउने सङ्क्रान्ति शुक्रवार परेको छ । त्यस कारण यस महिनामा शुक्र ग्रहको प्रभावले प्रायः कामकाजका क्षेत्रमा केही सकारात्मकता देखिनेछ । राजनीतिक क्षेत्रमा कलह र आपसी मनमुटावको समस्यालाई हल गर्दै लैजाने अवस्था देखिन्छ ।

एक अर्काप्रतिको सहयोग र समझदारीमार्फत गरेका कार्यहरूको नतिजा राम्रो हुनेछ भन्ने ज्योतिष शास्त्रको मान्यता रहेको छ । हिन्दू धर्ममा सबै चाडपर्व चन्द्रमाको आधारमा नै मनाइन्छ । तर सूर्यको आधारमा यो पर्व मनाइने हुनाले सङ्क्रान्तिको दिनलाई अन्य दिन भन्दा विशेष दिन मानिन्छ । त्यसमा पनि साउने सङ्क्रान्ति र माघे सङ्क्रान्तिलाई अझै विशेष मानिन्छ । माघे सङ्क्रान्तिदेखि उत्तरायणको समय हुने भएकाले यस समयलाई देवताहरूको दिन मानिन्छ ।

साउने सङ्क्रान्तिदेखि पुस मसान्तसम्मको दक्षिणायनलाई देवताहरूको रात मानिन्छ र यस दक्षिणायनको समयमा नै हाम्रा ठूला चाडपर्वहरू पर्दछन् । साउने सङ्क्रान्तिको दिन गरेको तीर्थ स्नान र दानका कार्यहरूको पुण्य धेरै बढ्ने भएकाले यस दिन प्रसिद्ध तीर्थस्थलहरूमा गएर नुहाउने, श्राद्ध गर्ने र दान जस्ता पुण्य कार्य गर्नेहरूको घुइँचो लाग्छ । आजको दिन कण्डारक पूजा गरिन्छ ।

नेपालीहरूले साँझको समयमा घरमा विभिन्न प्रकारका सुकेका काठहरू बालेर लुतो फाल्ने प्रचलन र आफ्नै मौलिक संस्कृति रहेको छ । थारु समुदायले माघे सङ्क्रान्तिको दिनमा माघी पर्व मनाए जस्तै साउने सङ्क्रान्तिको दिनलाई पनि कगुरिया पर्वको रूपमा विशेष रूपले मनाउँछन् । र आजको दिन बैतडीको गुजरमा बनारसी पूजा लगायतका विभिन्न कर्महरू गरिन्छ । आजदेखि नै साउने मेला विधिवत् रूपमा सुरु हुन्छ ।

सङ्क्रान्तिको बारेमा ज्योतिष शास्त्रमा धेरै कुराहरू लेखिएको छ । तिथि, वार, योग, नक्षत्र, करण, लग्न, राशि आदिको आधारमा पनि यसको फलहरूको बारेमा लेखिएको छ । साउने सङ्क्रान्तिका दिन स्वर्गका देवताहरू पनि विभिन्न तीर्थहरूमा आएर स्नान गरी दानहरू गर्दछन् भन्ने मान्यता छ । यो दिन देवघाटधाम, वराहक्षेत्र, रुरुरिडी क्षेत्रहरू जस्ता तीर्थस्थलहरूमा गइ स्नान र पुण्य आदिका कार्यहरू गर्ने गरिन्छ । (नेपाल पञ्चाङ्ग निर्णायक समिति ज्योतिषका भनाइ साभार)

प्रतिक्रिया