१० महिनादेखि थन्केको रेलको ‘ट्रयाक स्पीड’ परीक्षण आज हुँदै

admin

काठमाडौं, ३ साउन : नेपालले आफ्नै रेल ल्याएकाे लामो समयसम्म सञ्चालन हुन सकेन । करिब १० महिनादेखि थन्किएकाे जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ आज परीक्षण गरिँदैछ ।

नेपालकाे एक मात्र रेलमार्ग जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि रेल्वे ट्रयाकमा आजबाट ट्रयाक स्पीड परीक्षण गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । उनका अनुसार परीक्षणकाे सबै तयारी पूरा भइसकेको छ । कुनै पनि नयाँ रेलमार्ग सञ्चालनपूर्व ट्रयाक स्पीड परीक्षण गरिनु महत्वपूर्ण प्रक्रिया मानिन्छ

याे परीक्षण भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा गरिने भट्टराईकाे भनाइ छ । उक्त रेल प्रतिघण्टा ६० किलोमिटरको गतिमा भारतको जयनगर रेल्वे स्टेशनबाट जनकपुर आइपुग्ने बताइएकाे छ । त्यसपछि पुनः जनकपुरबाट प्रतिघण्टा १२० किलोमिटरको गतिमा रेल जयनगर नै फर्किने छ ।

लामाे समयदेखि प्रयाेगविहीन भएकाले रेलवे ट्य्राकमा स्थानीयहरूले चाैपाया छाेड्ने, बालबच्च खेल्नेसमेत गर्दै अाएका थिए । तर आइतबार भने रेल्वे ट्रयाक वरपर चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछोड्न सर्वसाधारणका सूचना गर्नुका साथै रेलवे ट्य्राककाे सीमासम्म सुरक्षाकर्मी परिचालन गरिएको रेलवे कम्पनीले जनाएकाे छ ।

गत माघबाटै जनकपुर–जयनगर रेल्वे सञ्चालनमा ल्याउने भनिए पनि विविध कारणले साे कार्यमा ढिलाइ भएकाे कम्पनीकाे भनाइ छ । भारतको विहार राज्यको जयनगरदेखि जनकपुरको कुर्थासम्मको रेलवे लाइन ३५ किलोमिटर रहेकाे छ । यसमा चल्ने रेल नेपालले सुरूमा भाडामा लिने बताए पनि पछि भारतमै निर्माण गर्न लगाएर अाफ्नै रेल भित्र्याइएकाे थियाे ।

प्रतिक्रिया