काठमाडौं, ३ साउन : नेकपा एमाले एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका नेताहरुले आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेको छ । भेटका क्रममा नेता नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएको स्थायी कमिटी सदस्य शंकर पोखरेलले जानकारी दिएका छन् ।
केपी ओली पक्षका नेता पोखरेलले १० सदस्यीय कार्यदलले प्रस्ताव गरेको प्रतिवेदन वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेपछि पार्टी एकताका लागि गरेको तीन महिनाको मेहनत खेर गएको बताए । आइतबार बिहान कार्यदलका सदस्यहरू नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । माधव नेपालसँग भेटेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मिहिनेत खेर गयो ।’
कार्यदलमा रहेका नेताहरुले शनिबार अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । एमाले विवाद समाधानका लागि गठित १० सदस्यीय कार्यदलले असार २७ गते पार्टी एकताका लागि १० बुँदे सहमति गरेको थियो । तर सहमति भएदेखि नै उक्त सहमतिप्रति नेता नेपालले असन्तुष्टि जनाएका थिए ।
नेता नेपाल पक्ष आइतबारको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित भएको छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदै छन् । देउवालाई विश्वासको मत दिने नदिनेबारे नेपाल पक्ष छलफलमा छ ।