दिल्लीमा उपचार गराइरहेका नेता खनालको अपिल : ‘देउवा सरकारलाई विश्वासको मत दिऔं, अलमल नगरौं’

admin

काठमाडौं, ३ साउन : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधामन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन् । भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत खनालले आइतबार विज्ञप्ति जारी गर्दै एमालेका सांसदलाई देउवालाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

उनले सर्वोच्चको फैसला ऐतिहासिक भएको हुँदा विश्वासको मत दिनुपर्ने पनि बताएका छन् । उपचार गराइरहेका खनालले पार्टीका सांसदहरूलाई अलमलमा नपर्न समेत भनेका छन् । खनालले विज्ञप्तिमार्फत् शेरबहादुर देउवा नेतृत्वको सरकार २ वर्ष निवार्ध चल्नुपर्ने बताएका छन्। ‘..देउवा सरकारलाई विश्वासको मत प्रदान गरौं, सकेसम्म पार्टीमा सर्वसम्मत बनाउन कोसिस गरौं । त्यो भएन भने पनि विधिपूर्वक अन्तरपार्टी वैचारिक बहसहरू सञ्चालन गरौं,’ खनालले लेखेका छन् ।

‘सर्वोच्च अदालतको उक्त फैसलापछि लोकतान्त्रिक आन्दोलनका सहयोद्धा माननीय शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेको छ । यो सरकार अब दुई वर्षसम्म निर्वाध रूपले चल्न सक्नुपर्छु, खनालले विज्ञप्तिमार्फत् भनेका छन्, ‘त्यसैले म नेकपा एमालेका सांसदीय दलका सम्पूर्ण माननीय सदस्यलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दुछ।’

उनले देउवाले विश्वासको मत प्राप्न नगरे मुलुक फेरि संकटग्रस्त हुने टिप्पणी गरेका छन् । खनालले पार्टी एकताका लागि दोस्रो पुस्ताका नेताहरूको पहलकदमीलाई भने समर्थन गरेका छन् । ‘हाम्रो पार्टीका दोस्रो पुस्ताका साथीहरूको पहलकदमीलाई समर्थज गरौं र एकता संघर्ष उन्नतस्तरको एकताको द्वन्द्वात्मक प्रक्रियामार्फत् पार्टीलाई नयाँ धरातलमा एकतावद्ध बनाउँदै राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेलौं, खनालले विज्ञप्तीमा भनेका छन् ।

 

प्रतिक्रिया