एमालेलाई फुटाउने उद्देश्यले आजै विश्वासको मत लिने निर्णय भएको हो : एमाले

admin

काठमाडौं, ३ साउन : नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको पहिलो बैठकमा नै विश्वासको मत लिने निर्णय गर्नुका पछाडि एमालेलाई फुटाउने उद्देश्य रहेको ठहर गरेको छ । आइतबार ललितपुरको च्यासलमा रहेको तुलसी स्मृति भवनमा बसेको स्थायी कमिटी बैठकले एमाले विभाजन गराउने प्रयासबाट आइतबार नै विश्वासको मत लिने निर्णय गरेको निष्कर्ष निकालेको हो ।

आइतबार नै प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै छन् । स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेता माधवकुमार नेपाल पक्षलाई विश्वासको मतको विपक्षमा उभ्याउने गरिएको पछिल्लो प्रयास पनि असफल भएको जानकारी दिए ।

नयाँ कोर्समा अगाडि बढ्ने निर्णय गरिसकेको भए अब उनी एमालेमा नरहने समेत नेता ज्ञवालीको भनाइ छ । यस्तै एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताएको छ । प्रवक्ता ज्ञवालीले पार्टीले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने संस्थागत निर्णय गरिसकेकाले देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताए ।

उनले भने- ‘नेकपा (एमाले) को संस्थागत निर्णयभन्दा बाहिर गएर आफ्नै पार्टीको नेतृत्वको सरकारलाई ढलाएर बनेको सरकार या प्रधानमन्त्रीको पक्षमा मत हालिसकेपछि ती साथीहरु चाहिँ पार्टी भित्र रहनुहुन्न । यो चाहिँ प्रष्ट नै हो ।’ प्रवक्ता ज्ञवालीले एमालेले देउवा सरकारको विपक्षमा मतदान गर्ने पनि बताए ।

उनले भने- ‘हामीले अस्तिको बैठकबाटै निर्णय गरिसकेका छौँ । हामी प्रतिपक्षमा रहन्छौँ । सरकारलाई समर्थन गर्न सक्दैनौँ र सरकारले माग्ने विश्वासको मतको विपक्षमा मतदान गर्छौँ । यही कुरा हामीले पार्टीका सबै सांसदहरु र सम्भव भएका अरु दलहरुलाई पनि आग्रह गर्ने निर्णय गरेका छौँ ।’

प्रवक्ता ज्ञवालीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकताको पक्षमा नरहेको पनि जिकिर गरे । आइतबारको स्थायी कमिटी बैठकमा पनि एमालेका वरिष्ठ नेता नेपाल समूह अनुपस्थित भएको छ । यसअघि शुक्रबारको बैठकमा पनि नेपाल समूह सहभागी भएको थिएन ।

प्रतिक्रिया