काठमाडौं, ३ साउन : नेपाल स्काउट प्रगतिशिल संघर्ष समितिले नेपाल स्काउटको केन्द्रदेखि स्थानीय तहसम्म तत्काल निर्वाचन गराएर समिति गठन गर्नुपर्ने माग गरेको छ । त्यस्तै समितिले यसको लागि निर्वाचन समिति तत्काल गठन गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । आइतबार संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो माग गरेको हो ।
विगत एक दशकदेखि नेपाल स्काउटको केन्द्रदेखि तल्लो तहसम्म निर्वाचविहीन समिति रहेकोले तत्काल निर्वाचन समिति गठन गरेर केन्द्रदेखि तल्लो तहसम्म समिति निर्माण गर्नुपर्ने संघर्ष समितिको माग छ । नेपाल स्काउटको तदर्थ समिति गठन भएको २८ महिना बितिसक्दापनि अहिलेसम्म उक्त समितिले निर्वाचन नगरी मनोमानी ढंगले स्काउटलाई चलाएको नेपाल स्काउटका सहायक प्रशिक्षक राजिव खत्रीले बताए ।
खत्रीले अहिले विद्यमान पाँच तहको राष्ट्रिय तदर्थ समितिमा भौगोलिकता र क्षेत्रियतालाई लिएर सदस्यहरुलाई होच्याउने, अन्य सदस्यहरुको अभिमतको कदर नगरी तानाशाही तवरले एकल निर्णय गराउने व्यवहार देखाइएको आरोप लगाए । पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक पुण्यराम गोथेले स्काउटमा गैरस्काउटहरुको हाबी भएको भन्दै तत्काल निर्वाचनमार्फत समिति गठन गर्नुपर्ने बताए ।
उनले स्काउटभित्र विकृति तथा विसंगति मौलाएको भन्दै अहिले कायम रहेको तदर्थ समिति विघटन गर्नको लागि सरकारसमक्ष माग गरे । कार्यक्रममा संघर्ष समितिका सदस्य तरुणरञ्जन दक्तले उनले अहिल रहेको तदर्थ समिति नै अवैधानिक भएको भन्दै यसलाइ तत्काल खारेज गर्नुपर्ने माग गरे ।