कांग्रेसमा मन्त्री बन्न लर्को

admin

काठमाडाैं,४ साउन : नेपाली कांग्रेस नेतृत्वमा सरकार गठन भएसँगैं धेरैजसो सांसद मन्त्री बन्न लालायित देखिएका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि कांग्रेसले सरकार बनाउन अर्को आमनिर्वाचन कुर्नुपर्नेबाहेक सम्भावना देखिएको थिएन ।

तर, सत्ता गठबन्धन मात्र होइन, एमालेभित्रको विग्रहका कारण कांग्रेसलाई आफ्नो नेतृत्व गर्ने अवसर प्राप्त भएको हो । सरकारको नेतृत्व गर्ने अवसर पार्टीभित्रबाट सभापति शेरबहादुर देउवालाई मिल्यो ।

देउवा प्रधानमन्त्री भएसँगैं कांग्रेसका सांसदहरु मन्त्री बन्न सक्रिय भएका हुन् । गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड भइनसके पनि कांग्रेसका सांसदहरु मन्त्री बनाइदिन भन्दै शीर्ष नेताहरुको निवास धाइरहेका छन् ।

सभापति देउवाले आफू निकट खाँण र कार्कीलाई सरकारमा सहभागी गराइसकेका छन् । कांग्रेसबाट सरकारमा पुष्पा भुसाल र नारायण खड्कालाई पनि सहभागी गराउने निश्चित रहेको स्रोतको दावी छ ।

भुसाल अहिले कांग्रेस सचेतक छिन् । प्रमुख सचेतक खाँणले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । संसदीय दलका नेता देउवाले मीन विश्वकर्मालाई प्रमुख सचेतक र भुसाललाई पनि मन्त्री बनाएपछि प्रमिला राईलाई सचेतक बनाउने तयारी गरेका छन् ।

देउवानिकट केहीले भने राइलाई मन्त्री बनाउन सुझाएका छन् । पहिला उपप्रधानमन्त्री भएका प्रकाशमान सिंह र सुजाता कोइराला पनि सरकारमा सहभागी हुन चाहेको निकट स्रोतको दावी छ ।

कांग्रेस संस्थापन इतर समूहका सिंह र कोइराला उपप्रधानमन्त्री नपाए सरकारमा सहभागि हुने छैनन् । संस्थापनि इतरका दिलेन्द्रप्रसाद बढु पनि सरकारमा सहभागी हुने सम्भावना बढिरहेको छ । एक नेताले भने, ‘प्रमोद यादव, राजन केसी, तेजुलाल चौधरीमध्येबाट सरकारमा सहभागी हुने सम्भावना बढी छ ।’ यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया