अब कांग्रेसले एमालेमाथि हमला गर्ने भएकाले ओलीद्वारा कार्यकर्तालाई यस्तो निर्देशन

admin

काठमाडौं, ४ साउन : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस (कोभिड १९) खोपलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् । निवर्तमान प्रधानमन्त्री ओलीले भने सबै नेपालीलाई पुग्ने गरी खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको अघिल्लो सरकारले नै गरेकाले त्यसलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले (हिजो) आइतबार विश्वासको मत लिने क्रममा कोभिड खोप लगाउने कामलाई प्राथमिकताका साथ अघि बढाउने बताएका थिए । ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा (आज) सोमबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकको शुभारम्भमा बोल्दै उनले केही पनि नभएको ठाउँबाट सबै नेपालीलाई लगाउन पुग्ने गरी कोभिड खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको अघिल्लो सरकारले मिलाएको दाबी पनि गरेका छन् ।

ओलीले भने, ‘केही पनि नभएको ठाउँबाट सबैले कोभिड खोप लगाउन पाउने अवस्थामा पुर्‍याएका छौँ । दक्ष जनशक्ति, खोप लगाउने केन्द्रहरू र तदअनुसारको प्रबन्ध र सबै नेपालीलाई क्रमशः लगाउने पुग्ने गरी खोपको व्यवस्था गरेका छौँ’, उनले भने, ‘अब कसैले प्राथमिकता खोप, खोप, खोप भनेर जोड दिइरहन आवश्यक छैन ।’

अध्यक्ष ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले बाढी, पहिरो र डुबान पीडितलाई पनि आवाससहित राहतको आवश्यक व्यवस्था मिलाएको दाबी गरे । आफू नेतृत्वको सरकारले देश र नागरिकका लागि गर्व गर्न लायक काम गरे पनि अन्य दलले आफ्नो अस्तित्व रक्षाका लागि त्यसको विरोध गर्नुपरेको उनको तर्क थियो ।

२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको आफ्नो पार्टीको सरकारले पनि सफलतापूर्वक काम गरेकै कारण प्रतिक्रियावादीहरूले सरकारबाट हटाएको उल्लेख गर्दै ओलीले आफू नेतृत्वको सरकारले पनि राम्रो काम गर्दा गर्दै प्रतिक्रियावादी शक्तिहरूले पार्टीभित्रकै केही महत्त्वकाङ्क्षीलाई प्रयोग गरेर पार्टीलाई नै विभाजन गर्ने षड्यन्त्र गरिरहेको बताए ।

उनले भने, ‘केही राजनीतिक दलले आफ्नो अस्तित्व रक्षाका लागि भए पनि आफू नेतृत्वको सरकारले गरेका राम्रा कामको विरोध गरेका हुन्, अध्यक्ष ओलीले भने, पार्टीभित्रका महत्त्वकाङ्क्षीहरूलाई सुर्‍याएर आफ्नो पार्टीलाई कमजोर बनाउने काम भइरहेको छ ।’ त्यस अवसरमा उनले आफू नेतृत्वको अघिल्लो सरकारले संविधान, कानुन र लोकतान्त्रिक प्रक्रियाअनुसार देशको समृद्धिको अभियानलाई अघि बढाएको, अन्तराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाएको दाबीसमेत गरे ।

यस्तै उक्त बैठकमा सम्बोधन गर्दै ओलीले पार्टी पंक्तिलाई शसक्त प्रतिकारका लागि तयार रहन आह्वान गरेका छन् । अध्यक्ष ओलीले नेपाली कांग्रेसबाट अब एमालेलाई खतरा भएकाले प्रतिवादका लागि तयार रहन पार्टी पंक्तिलाई आग्रह गरेका छन् । कांग्रेसको विगत नै एमाले माथि ह’मला गर्ने भएकाले अब पनि त्यो शिलसिला सुरु हुने उनको भनाई छ ।

उनले त्यसको लक्षण आफुले पाइसकेको समेत बताएका छन् । माओवादी केन्द्रले समेत अब एमालेलाई जसरी पनि समाप्त पार्ने रणनीति लिएका कारण एमालेका लागि जोखिम बढेको उनको निष्कर्ष थियो । कांग्रेस सत्तामा पुगेपछि जहिले पनि एमाले माथि हमला सुरु हुने भएकाले अब पनि सत्ताको दुरुपयोग गरेर एमालेमाथि हमला शुरू गर्ने उनको भनाई थियो ।

हाम्रो पंक्तिमाथि हुने सम्भाव्य आक्रमण र षड्यन्त्रको अनुमान गरेका छौं उनले भने, त्यसैले हामी सचेत र सशक्त प्रतिवादको लागि बस्नुपर्छ ।’ देउवाले २०४८ सालदेखि नै एमालेमाथि दमनकारी नीति लिएको भन्दै उनले शसक्त प्रतिकारका लागि तयारी अवस्थामा रहन आग्रह गरेका छन् । सबैलाई याद होस् ।’

त्यस्तै उनले नेकपा एमालेका अध्यक्ष ओलीले पार्टी उपाध्यक्ष भीम रावलले हतारिएर सांसद पदबाट राजीनामा दिएको भन्दै फिर्ता लिनुपर्ने बताएका छन् । केन्द्रीय कमिटीको बैठकमा रावलको राजिनामाबारे चर्चा गर्दै अध्यक्ष ओलीले माधव नेपालले १० बुँदे सहमति पालना नगर्ने र देउवालाई विश्वासको मत नदिई नछाड्ने भएपछि रावलले राजीनामा दिए पनि त्यो आवश्यक नरहेको बताए ।

ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । च्यासलमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारमा राजीनामा दिएको बताए । ‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने । अझै पनि ​सकिन्छ भने राजीनामा फिर्ता लिनुस्’, ओलीले भने । पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिएको अध्यक्ष ओलीले बताए ।

त्यस्तै ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘गद्दार’ भएको आरोप लगाएका छन् । यसैगरी ओलीले नेपाललाई ‘कम्युनिस्ट आन्दोलनकै गद्दार भएको’ आरोप पनि लगाएका छन् । उनले नेपाललाई अब एमालेमा कुनै ठाउँ नभएको घोषणासमेत गरेका छन् ।

‘माधव नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार हुन्, एमालेमा उनलाई ठाउँ छैन’, सम्बोधनका क्रममा नेपालप्रति आक्रोशित ओलीले भने, ‘कोही साथीहरु गल्ती स्वीकार गरेर, सच्चिएर आउनुहुन्छ भने स्वागत छ, तर माधव नेपाललाई त्यो ठाउँ छैन ।’  आइतबार प्रतिनिधि सभामा एमालेका २२ जना सांसदले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।

२२ जनामा धेरैजसो नेपालपक्षका थिए भने केही ओलीपक्षकै सांसद थिए । आइतबारको घटनालाई ओलीले ‘चरम अनैतिक’ भएको टिप्पणी गरे । ओलीले उनीहरुलाई पार्टीले कारबाही गर्ने संकेत गरे । ‘पार्टीप्रति गद्दारी गर्नेहरुलाई कारबाही नगर्ने हो भने एमाले पार्टी अब पार्टी नै रहन्न’, उनले भने ।

यस्तै अध्यक्ष ओलीले देउवा सरकार कवाडीका सामान बटुलेर बनाएको टालटुले सरकार भएको टिप्पणी समेत गरेका छन् । सोही बैठकमा उनले देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइलकबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बटुली कति राम्री पुतली भन्ने खालको सरकार भएको टिप्पणी गरेका हुन् । एमाले चिचिलो काँक्रो जस्तो अरुले औँला ठडाएर देखाउँदा झरेर जाने चिज नरहेको ओलीले बताए ।

उनले भने, ‘एमाले जनताको अपार समर्थन भएको पार्टी हो सबैलाई याद होस् ।’ ओलीले आफ्नो सरकारले गरेका राम्रा कामको प्रचार गर्न र वर्तमान देउवा सरकारको भण्डाफोर गर्न नेताहरुलाई निर्देशनसमेत दिएका छन् ।  त्यस्तै बैठकले गद्दारी गरेको आरोपसहित फ्लोर क्रस गर्ने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

नेता माधवकुमार नेपालसहित शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरुलाई गुटबन्दीको महारोगको नेतृत्व गरेको आरोप लगाउँदै स्पष्टीकरण सोध्ने निर्णय बैठकले गरेको हो । बैठकले गल्ती स्वीकार गरेर आउनेहरुलाई अन्तिम अवसर दिने निर्णय पनि गरेको छ। साथै बैठकले कार्यदलको १० बुँदे समझदारीलाई अनुमोदन समेत गरेको छ । अर्को बैठक मंगलबार तीन बजे बस्ने बताइएको छ ।

प्रतिक्रिया