काठमाडौं, ५ साउन : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवबिच भेटवार्ता भएको छ । मंगलबार बिहान ओलीसँगको भेटवार्ताका लागि विप्लव भेट्न बालकोट पुगेका थिए । भेटमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत नेताहरू सहभागी थिए ।
उक्त भेटमा सरकारसँग नेकपाले गरेको तीन बुँदे सहमतिको कार्यान्वयनका सन्दर्भमा छलफल भएको बताइएको छ । विप्लव नेतृत्वको नेकपाले ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेको थियो । विप्लव ओली प्रधानमन्त्री हुँदा शान्तिपूर्ण राजनीतिमा आएयता शीर्ष नेताहरुसँगको राजनीतिक भेटवार्तामा व्यस्त छन् ।
विप्लवले ट्विटमार्फत पछिल्लो राजनीतिक अवस्थाका विषयमा ओलीसँग छलफल भएको जानकारी दिएका छन् । उनले यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले बरिष्ठ नेता माधव नेपाल तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् ।