काठमाडौं, ५ साउन : मन्त्रिपरिषद् विस्तारका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता तीव्र पारेका छन् । विश्वासको मत पाइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्न नहुने दाहालको भनाइ छ । अहिले अर्थ, गृह, ऊर्जा र कानुन मन्त्री मात्रै नियुक्त भएका छन् ।
कांग्रेस, माओवादी, जसपा र सकभर एमालेको माधव नेपाल पक्षबाट पनि मन्त्री बन्नेहरूको नामको सूची बनाएर प्रभावकारी काम गर्नेहरूलाई मन्त्री बनाउनुपर्ने कुरा दाहालले प्रधानमन्त्री देउवासँग राखेका छन् ।
मंगलबार बिहान जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लिएर एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री देउवालाई दाहालले केपी ओली नेतृत्वको सरकारले असंवैधानिक किसिमले गरेका नियुक्ति खारेज गर्न पनि सुझाव दिएका छन् । प्रधानमन्त्री देउवा पनि छिटै मन्त्रिपरिषद् विस्तारमा सहमत भएको दाहालको सचिवालयले जनाएको छ ।