केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड र माधव देउवाका पुच्छर बने : नेता बस्‍नेत

admin

काठमाडौं, ५ साउन : नेकपा एमालेका नेता महेश बस्‍नेतले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड शेरबहादुर देउवाका पुच्छर भएका बताएका छन् । राष्ट्रिय युवा संघ अन्तरजिल्ला विशेष प्रदेशको विस्तारित भेलालाई मंगलबार नयाँ बानेश्वरमा सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

‘गाई भैंसी चराउन जाँदा झिंगाले टोक्छ अनि प्याट्ट हान्छ, त्यो पुच्छर त्यति अमर्यादित हुन्छ, त्यसको काम झिंगा मार्ने हो, आज प्रचण्ड र माधव शेरबहादुर देउवाको झिंगा मार्ने अभियानमा हिँडिरहेका छन्’ नेता बस्‍नेतले भने । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन माधव प्रचण्डहरु कांग्रेसको पुच्छर बनेका उनले बताए । एमालेका केही नेताहरु मन्त्री र फ्लाइट पाइने लोभमा कांग्रेसको पछि लागेका पनि महेशले बताए ।

पार्टीभित्र गद्दारी गर्नेहरुले संविधान बचाउन र सदन जोगाउन देउवालाई मत दिएको बताउनु गलत भएको उनको भनाइ छ । ‘कमरेड केपी शर्मा ओली ज्यूले विश्वासको मत मागिरहँदा संविधान र संसद् बचाउने साथीहरुले केपी ओलीलाई भोट हाल्ने हिम्मत गर्नुभएन ? एमालेलाई भोट हालेर संविधान र संसद् बचाउँदा के हुन्थ्यो ? पार्टीको ह्वीप विरुद्ध किन कांग्रेसमा भोट हाल्नुभयो ? देशी विदेशी शक्तिको साँढगाँढमा अन्य पार्टीको षडयन्त्रमा किन काम गर्नुभयो ?’ बस्‍नेतले प्रश्न गरे ।

केही केहीले अहिले राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध महाअभियोग लगाउने दिवा सपना देखिरहेका पनि नेता बस्नेतले बताए । नेपालको कम्युनिष्ट आन्दोलन समाप्त पार्न देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु लागिरहेका उनले बताए । अहिले पनि प्रहरी प्रशासनमा नेकपा एमाले बलियो भएको  बस्‍नेतले बताए । सदनमा अहिले पनि एमालेको बहुमत भएको बताउँदै नेता बस्‍नेतले भने, ‘राष्ट्रिय सभामा एमालेको स्पष्ट बहुमत छ, प्रतिनिधि सभामा एमाले विरुद्ध दुई तिहाइ पुर्‍याउन इन्द्रेको बाउ चन्द्रे आएपनि सक्दैन ।’

प्रतिक्रिया