जोन्सन एन्ड जोन्सन खोप काठमाडौंमा १८ वर्षमाथिका सबैलाई लगाइदै

admin

काठमाडौं, ६ साउन कोरोना भाइरसविरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौंमा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाडौंमा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए ।

अहिले खोप लगाउनका लागि काठमाडौंका ४४ वटा खोप केन्द्रमा भिड रहेको छ । उनले खोप (भोलि) बिहीबारसम्म खोप केन्द्रमा गएर लगाउन सकिने बताए । उनले जोन्सन एन्ड जोन्सन खोपबारे नकारात्मक हल्ला भएपछि मानिसहरूले कम लगाएको हुन सक्ने भन्दै खोपले कुनै नकारात्मक प्रभाव नपार्ने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन ४ गते खोप अभियानको शुभारम्भ गरेका थिए । बिहीबारसम्म लगाइने खोप सुरुमा ५० देखि ५४ वर्ष उमेर समूहका सबैलाई भनिएको थियो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार आठ सय ५० मात्रा जोन्सन एन्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत यही असार २८ गते अनुदानमा उपलब्ध गराएको थियो ।

जोन्सन एन्ड जोन्सन खोप पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाइँदैछ । नेपालमा अहिलेसम्म ३१ लाख ५० हजार नौ सय ५६ जनाले पहिलो मात्रा र ११ लाख ५८ हजार एक सय ३० जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् ।

प्रतिक्रिया