काठमाडौं, ६ साउन : नेकपा (माओवादी केन्द्र) ले गठबन्धनका राजनीतिक पार्टीहरूका बिचमा न्यूनतम साझा कार्यक्रम छिटोभन्दा छिटो तय गर्न आह्वान गरेको छ ।
माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम र साझा प्रतिवद्धताहरूमार्फत् अगाडि बढाउनुपर्ने भएकाले साझा प्राथमिकताका कार्यक्रम र प्रतिवद्धताहरू तय गर्न आह्वान गरेको हो ।
बैठकले विगतको सरकारले देखाएको आचरण अबको गठबन्धनको सरकारले देखाउन नहुने र विगतमा गरिएका प्रतिवद्धता अनुरूप अगाडि बढ्नुपर्नेमा जोड दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
“हामीले हिजो जुन प्रवृत्तिकाविरुद्ध संघर्ष गर्यौँ, त्यो कुनैपनि ढंगबाट अब देखिनु हुँदैन । पुनरावृत्ति हुनु हुँदैन । त्यसमा जोड गर्ने भनेर आज हाम्रो पार्टीले त्यसमा जोड दिएको छ ।
त्यसको निम्ति गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिवद्धताहरूमार्फत् अगाडि बढाउनुपर्ने भएकाले छिटोभन्दा छिटो गठबन्धनका पार्टीहरू सम्मिलित भएर एउटा न्यूनतम साझा कार्यक्रम वा हाम्रा साझा प्राथमिकताका कार्यक्रमहरू र प्रतिवद्धताहरू तुरुन्तै तय गर्न पार्टीले आह्वान गरेको छ । र त्यसै अनुसार कार्यदलका सदस्यहरूलाई निर्देशन दिइएको छ,” उनले भने ।
बैठकले पार्टी निर्माणको प्रक्रियालाई व्यवस्थित र तीव्र पार्ने निष्कर्ष निकाल्दै केन्द्रीय कमिटीको बैठक साउन २० गते र स्थायी कमिटीको बैठक साउन १७ गते गर्ने निर्णय पनि गरेको छ ।