एजेन्सी, ७ साउन : अमेरिकामा मङ्कीपक्सको संक्रमण पुष्टि भएपछि २७ राज्यमा २ सय जनाभन्दा बढीको खोजी शुरु गरिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यो महिनाको शुरुवातमा नाइजेरियाबाट टेक्सास निवासी एक व्यक्तिले यो रोग अमेरिका भित्र्याएको बताइएको छ ।
दुई सय जनाभन्दा बढी संक्रमितको सम्पर्कमा आएको आशंका गरिएको छ । सन् २००३ पछि अमेरिकामा पहिलोपटक मङ्कीपक्सको संक्रमण भेटिएको हो । संक्रमितलाई अस्पताल भर्ना गरिएको छ भने उनको अवस्था स्थिर रहेको बताइएको छ । हालसम्म थप नयाँ संक्रमित फेला परेका छैनन् ।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले ती व्यक्तिले प्रयोग गरेका दुई विमानका यात्रुहरु संक्रमणको जोखिममा रहेको बताएको छ । ती व्यक्तिले गन ९ जुलाईमा नाइजेरियाको लागोसबाट जर्जिया एटलान्टाको विमान प्रयोग गरेका थिए भने त्यसपछि उनी त्यहाँबाट डालास उडेका थिए । त्यहाँ उनी अस्पतालमा भर्ना भएका छन् ।
सीडीसीले विमानमा सवारहरुको सूची तयार गरेर खोजी गरिरहेको छ । तर, विमानमा मास्क लगाउन अनिवार्य गरिएकाले जोखिम भने निकै कम रहेको बताइएको छ । स्मलपक्सकै समूहमा रहेको मङ्कीपक्स कम घातक रहेको सीडीसीको भनाइ छ । यो रोग मध्य र पश्चिम अफ्रिकी मुलुकको दुर्गम भेगमा पाइन्छ । सन् २००३ मा अमेरिकामा यो रोग फैलिँदा ४७ जनामा मङ्कीपक्सको संक्रमण पुष्टि भएको थियो ।