नेपालका १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की पठाउनेको खोजी

admin

काठमाडौं, ७ साउन : नेपाल राष्ट्र बैंकले विभिन्न १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की भाइबरमा पठाउनेको खोजी भइरहेको बताएको छ । राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले त्यस्तो धम्की दिनेको पहिचान गर्न आइटी डिपार्टका कर्मचारी खटिसकेको र प्रहरीको सहयोग जरुरत परेमा लिने बताएका छन् ।

उनले ह्याकरले बाजा बजाएर ह्याक नगर्ने पनि बताए । ‘कसैले बाजा बजाएर सिष्टम ह्याक गर्ने हो र ? नेपालको बैंक प्रणाली मजबुत रहेको र यस्ता धम्कीबाट डराउनै नपर्ने उनले बताए । यसबाट आतंकित हुनु पर्दैन,’ उनले भने । ‘भाइबरमा यस्ता फेक सूचना आएका रहेछन्, यस्तो काम गर्नेको खोजी भइरहेको छ, ‘कुनै ह्याकरले इमेल गरेको पनि होइन । यो त भाइबरमा आएको फेक धम्की हो । प्रहरीको सहयोगमा यस्तो सूचना पठाउनेको खोजी गरिँदैछ।’

पोखरेलका अनुसार धम्की पठाउनेलाई पहिचान गरेर कारबाही गरिनेछ । नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी दिँदै ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको पाइएको छ । भाइबरमा आएको मेसेजमा राष्ट्र बैंकसहित १५ बैंकको सिष्टम २४ घन्टाभित्र ह्याक गर्ने धम्की थियो ।

ह्याकरले बुधबार राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने उल्लेख छ । राष्ट्र बैंकबाट जानकारी आएपछि आफूहरू सतर्क अवस्थामा रहेको र बिहीबार बिहानसम्म कुनै गडबडी नभएको सम्बद्ध बैंकहरूले जनाएका छन् । ह्याकरको इमेल र टेलिफोन कलबारे सरोकारवालालाई जानकारी गराएर सचेत हुन आग्रह गरिएको र थप अनुसन्धान अघि बढाइएको छ ।

ह्याकरले पठाएको पत्रमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमान्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको नाम उल्लेख छ ।

इम्पोर्टेन्टडटइनएटयानडेक्सडटकमबाट पठाइएको इमेलमा पत्रलाई खेलाँचीका रूपमा नलिन चेतावनीसमेत दिइएको छ । बैंक ह्याकिङ गर्ने भन्दै ह्याकरहरूले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहलाई पठाएको इमेल ।

प्रतिक्रिया