काठमाडौं, ७ साउन : नेकपा एमालेको दशौँ केन्द्रीय कमिटीको बैठक (आज) बिहीबार सकिएको छ । बैठकले जुनसुकै हालतमा पनि पार्टीलाई एकताबद्ध बनाउनुपर्ने निष्कर्ष निकालेको छ । यसअघि माधवकुमार नेपाल पक्षका नेतालाई कारबाही गर्नुपर्ने आवाज उठे पनि बिहीबार भने नेताहरूका गल्तीलाई माफी दिएर पार्टीलाई एकताबद्ध गराउनुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।
कारबाही फिर्ता लिनुपर्ने आवाज पनि बैठकमा उठेको छ । यसको सबै जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टीको अनुशासन नमान्ने नेताहरूलाई पनि माफी दिन सकिने अधिकार बैठकले अध्यक्ष ओलीलाई दिएको छ ।
प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्दै कारबाहीको चेतावनी दिएको दुई दिनपछि अध्यक्ष ओलीले विगतका गल्तीलाई आफूले माफी दिने र अब मिलेर अघि बढ्न आग्रह गरे । यसैबीच बिहीबारको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहका नेताले गरेका सबै गल्तीलाई आममाफी दिने घोषणा गरेका छन् ।