नेपाली नागरिकलाई नागरिकता दिन नसकेर सांसदले अपराध गरिरहेका छन् : डा. विमला

admin

काठमाडौं, ७ साउन : राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले नागरिकतासम्बन्धी विधेयक पास नहुन्जेलसम्मका लागि संविधानले प्रदान गरेको मौलिक अधिकार उपभोग गर्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताएकी छिन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. पौड्यालले झण्डै ६ लाख नेपाली आमाका सन्तान नागरिकताविहीन भइरहँदा पनि संसदबाट नागरिकतासम्बन्धी विधेयक पास हुन नसकेको बताइन् ।

नागरिकतासम्बन्धी विधेयक पास हुन नसक्दा लाखौँले संविधानको मौलिक हकले प्रदान गरेको अधिकार उपभोग गर्न नपाएको उल्लेख गर्दै उनले विधेयक पास नहुन्जेलसम्म त्यस अधिकारको उपभोगका लागि अस्थायी व्यवस्थापन गनुपर्ने बताएकी हुन् ।

उनले राजनीतिक सहमति हुन नसकेमा संसदमा फ्लोर क्रस गरेर भए पनि नागरिकतासम्बन्धी विधेयक अगाडि बढाइनुपर्ने बताइन् । नागरिकता विधेयकको सम्बन्धमा राजनीतिक दल र सांसदहरू जवाफदेही बन्न नसकेको उनले बताइन् । ६ लाख बढी नागरिकलाई नागरिकता दिन नसकेर सांसदहरूले अपराध गरिरहेको पौड्यालले बताएकी छिन् ।

उनले भनिन्, ‘यदि दलीय सहमति नजुटेर नागरिकताको विधेयक पास गर्न सकेका छैनौँ भनेदेखि फ्लोर क्रस गर्ने त अब चलन चलिसकेको छ । त्यस्ता कुरामा फ्लोर क्रस गरौँ, जसले नागरिकको टड्कारो आवश्यकतालाई पूर्ति गर्छ । सबैलाई भोट हाल्न लगाऔँ न त । आमाको नाममा नागरिकता दिने भनेर संविधानले भनिसकेपछि त्यही कुरा लेखेर आएको विधेयक किन पास हुँदैन ? कि हामी सबै पितृ सत्तालाई बोकेर हिँड्ने मान्छे छौँ यहाँ ? होइन भने अहिले पास हुनुपर्थ्यो । नागरिकताको विधेयक पास नहुन्जेलसम्म ६ लाख नागरिकले मौलिक अधिकारका सम्पूर्ण कुरा उपभोग गर्न पाउने गरी अस्थायी व्यवस्थापन गरौँ । जे लेखेर दिनुपर्छ लेखेर दिऔँ । नेपाली आमाको सन्तान नागरिकताविहीन भएर मौलिक अधिकारको उपयोग गर्न नपाएर बस्नु नपरोस् भनेर म ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया