काठमाडौं, ७ साउन : निर्माण सामाग्री ढुवानी तथा उपकरणको भाडा र श्रमिकहरुको ज्याला दर निर्धारण गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यलयमा (जिप्रका) प्रमुख काली प्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०७८/ ७९ को लागि जिल्ला दररेट सार्वजनिक गरेको हो ।
बैठकले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४८ अनुसार दररेट निर्धारण गरेको जनाएको छ । जिप्रकाको निर्णय अनुसार आर्थिक वर्ष २०७७/ ७८ का लागि मिति २०७८ साउन १ गतेदेखि काठमाडौं जिल्लाभर हुने गरि ज्याला दररेट स्वीकृत गर्ने निर्णय गरिएको जनाएको छ ।
निर्णय अनुसार हालका गाउँपालिका र नगरपालिकाको केन्द्र बजारबाट आयोजना स्थलसम्म दुरीको आधारमा हुन आउने ढुवानी खर्च सम्बन्धित निकायले दररेट विश्लेषण गर्दा ढुवानी भाडा थप गर्न सक्नेछन् ।
जिप्रकाले बुँदागत रुपमा ९ ओट निर्णय गर्दै मेशिन, औजार तथा उपकरणको भाडा दर सम्बन्धी मेशिन प्रयोग गरि सडक निर्माण गर्दा वा अन्य कार्य गर्नुपर्दा डोजर , एक्साभेटर, रोलर ग्रडर आदिको दर सडक विभागबाट काय गरिएको प्रति घण्टाको भाडादर अनुसार हुने जनाएको छ । निर्णय अनुसार निर्माण कामको लागि श्रमिक ज्यामीहरु प्रतिदिन ७९० रुपैयाँ ज्याला लाग्ने भएको छ ।
आर्थिक वर्ष २०७७ ७८ अर्थात अघिल्लो आर्थिक वर्षमा ७५० रुपैयाँ प्रतिदिन ज्याला थियो । यस्तै, अर्धदक्ष मजदुर भनेको डकर्मी, सिकर्मी, नकर्मी, त्यस्तै, चित्रकार प्लम्बर इलेक्ट्रोसियन, जुनियर सुपरर्भाजर, नदी निरिक्षण्क आदिको प्रति दिन ज्याला ८९० रुपैयाँ तोकेको छ । अघिल्लो वर्षभन्दा ४५ रुपैयाँले बढि बृद्धि गरेको हो । यसैगरी वोलेरो ४ व्हील डवल पिकअप भाडा इन्धन र चालक समेत गरी प्रतिदिन ५५०० रुपैयाँ ज्याला तोकेको छ ।