काठमाडौं, ८ साउन : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । रावलले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् ।
संसद बैठक बस्नुअघि उनले राजीनामा फिर्ता लिएका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिनुअघि रावलको राजीनामा आएको थियो । तर, सभामुख सापकोटाले स्वीकृत भने गरेका थिएनन् ।
रावललाई राजीनामा फिर्ता लिन पार्टीका नेताहरुले नै आग्रह गर्दै आएका थिए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद बढ्दै गएपछि विवाद समाधानका लागि गठन भएको कार्यदलमा उनी नेपाल पक्षबाट संयोजक थिए ।