काठमाडौं, ८ साउन : नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । पछिल्लो समय राजनीतिक भेटघाटमा व्यस्त विप्लवले (आज) शुक्रबार दिउँसो राप्रपाका अध्यक्ष थापासँग भेट गरेका हुन् ।
पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित थापा निवास बूढानीलकण्ठ पुगेका विप्लवले राप्रपाका अरू नेतासहित अध्यक्ष थापासँग भेट गरेका हुन् । भेटमा दुवै नेताले देश कठिन अवस्थामा पुगेको र वैदेशिक हस्तक्षेप बढ्दै गइरहेकाले सबै दल मिलेर राष्ट्रियता र स्वाधीनताको पक्षमा लड्नुपर्नेमा जोड दिएका छन् ।
विप्लवले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको तीन बुँदे सहमतिपछि खुला राजनीतिमा आए पनि अझै कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरेका छन् । यस्तै विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको नेता थापाले बताए ।