जंगलमा बस्ने पनि भ्रष्ट हुँदारहेछन्, महाराजधिराजले आममाफी दिनुभएछ : नेता नेपाल

admin

काठमाडौं, ८ साउन : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसारभरका दम्भी शासकहरु जनताका अगाडि पतन भएको बताएका छन् । साथै समाजका भ्रष्टहरुले कांग्रेस र कम्युनिस्टलाई नचिन्ने नेता नेपालले बताएका छन् ।

‘सत्ता यस्तो चिज हो, जसले दम्भ पैदा गर्दोरहेछ । सत्ताले मात्रै भ्रष्टीकरण ल्याउँदोरहेछ, बन्दुकले पनि ल्याउँदोरहेछ,’ शुक्रबार राजधानीमा कम्युनिस्ट नेता पुष्पलालको सम्झनामा आयोजित कार्यक्रममा एमाले नेता नेपालले भने, ‘जंगलमा बस्ने वित्तिकै त्यागी हुँदारहेनछन्, त्यहाँ पनि भ्रष्टहरु पैदा हुँदारहेछन् । त्यसैले उनीहरुलाई कारवाही गर्नु पर्दोरहेछ ।’

नेता नेपालले विप्लव माओवादीका नेता धर्मेन्द्र बास्तोलाको नाम लिँदै भने, धर्मेन्द्रजीहरुमा अझै पनि उग्रवामपन्थी धङधङी बाँकी छ । निम्न पुँजीवाद, व्यक्तिवाद र भ्रष्टताले कम्युनिस्ष्ट र काँग्रेस चिन्दोरहेनछ ।’ सोही क्रममा नेता नेपालले भने, ‘म पुष्पलालको बाटोमा हिँड्न चाहन्छु । कक्षा ९ मा पढ्दाखेरि प्रगतिशील विचारबाट प्रभावित भएर आएको हो ।’

पहिले आफूलाई बदलेर मात्रै समाजलाई बदल्न सकिने नेता नेपालले बताए । नेता नेपालले भने, ‘गफाडीको गफलाई जनताले पत्याउँदैनन्, प्रमाणिक कुरालाई मात्रै जनताले पत्याउँछन् ।’ यस्तै नेता नेपालले केपी ओली सुध्रिने पक्षमा नरहेको भन्दै अझै महाराजधिराजको शैलीमा प्रस्तुत भएको बताएका छन् ।

नेता नेपालले अध्यक्ष केपी ओलीले आफूहरुलाई महाराजधिराजको शैलीमा आम माफीको घोषणा गरेको सुन्दा हाँसो लागेको पनि बताए । उनले भने, ‘हिजो सुन्नुभएन महाराजधिराज उवाच ! यसलाई कम्युनिस्ट प्रवृति भनिन्छ ? के स्पस्टीकरण सोध्नु गल्ती भयो भन्दिएको भए कद घट्थ्यो ?’ ओलीले शुक्रबार बाटो बिराएकाहरुलाई आममाफी दिने अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया