काठमाडौं, ८ साउन : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा संविधानको मर्म र भावनाअनुसार नै प्रधानमन्त्री बनेको कुरालाई ढाकछोप गर्ने प्रयास नगर्न प्रतिपक्ष दल नेकपा एमालेलाई चेतावनी दिएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा नेकपा एमालेले अदालतको परमादेशबाट देउवा प्रधानमन्त्री भएको दाबी गरिरहेका बेला कांग्रेस नेता सिंहले संविधानको धारा ७६ (५) राख्ने अनि देउवालाई अदालतको परमादेशमा प्रधानमन्त्री भएको भन्न मिल्छ ? भनी प्रश्न गरे । उनले आफ्नै अकर्मण्यताका कारण निवर्तमान प्रधानमन्त्री केपी ओली सरकारबाट हट्न बाध्य भएको दाबीसमेत गरे ।
उक्त बैठकमा प्रधानमन्त्री देउवालाई बधाई दिँदै उनले भने, ‘संविधानको मर्म र भावनाअनुसार देउवा प्रधानमन्त्री बन्नुभएको हो । विद्वान् भन्छ, आफूलाई कानुनविद् भन्छ, कानुनको विद्यार्थी भन्छ, संविधानमा धारा ७६ (५) राख्ने अनि अहिले आएर चाँहि त्यही धाराअनुसार देउवा प्रधानमन्त्री बन्दा विधि, संस्कार र मूल्य, मान्यताको कुरा गरेर हुन्छ ? आफूले कार्यपालिकाको नेतृत्व गर्दा विधि र नियम मिच्ने, अनि जबरजस्ती विधि र प्रक्रिया नअपनाइ चुनावमा जान प्रयास गर्ने, त्यसपछि दलहरूले मिलेर कानुनी र राजनीतिक दुवै बाटोबाट लडाइँ लडी संविधानको रक्षा गर्दा विधिको कुरा गर्ने ?’
यस्तै नेता सिंहले ओली नेतृत्वको सरकारले गैरजिम्मेवार काम गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवालाई त्यसबाट पाठ सिकेर अघि बढ्न पनि आग्रह गरे । उनले कोरोना खोपको आवश्यक व्यवस्थापन गर्न, देशमा भाइरसकै रूपमा रहेको भ्रष्टाचारको अन्त्य गरी देशको सङ्कट समाधान गर्न प्रधानमन्त्री देउवालाई सफलता मिल्ने विश्वाससमेत व्यक्त गरे ।
नेता सिंहले नागरिकलाई राहत दिने तथा सङ्घीयतालाई संस्थागत गराउने गरी ल्याइएका विधेयकलाई संसदबाट छिटो पारित गराउन पनि सरकारको ध्यानाकर्षण गराए । उनले नेपालको परराष्ट्र सम्बन्ध सुधार्न पनि प्रधानमन्त्री देउवालाई सल्लाह दिएका छन् ।
दुई छिमेकीसँगको सम्बन्धसमेत कमजोर भएकाले समान व्यवहार र सन्तुलित सम्बन्ध राख्न प्रधानमन्त्री देउवालाई नेता सिंहले आग्रह गरे । नेता सिंहले नेपालको परराष्ट्र सम्बन्ध सुधार्न पनि प्रधानमन्त्री देउवालाई सल्लाह दिए । दुई छिमेकीसँगको सम्बन्ध समेत कमजोर भएकोले समान ब्यबहार र सन्तुलित सम्बन्ध राख्न प्रधानमन्त्री देउवालाई आग्रह गरे ।